१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फेरिँदै भीम अस्पताल

प्रदेश सरकारले कोभिड अस्पतालका रूपमा प्रयोग गरेपछि र जनशक्ति र उपकरण उपलब्ध गराएपछि मुहार फेर्न थालेको हो ।
माधव ढुंगाना

भैरहवा — भैरहवास्थित भीम अस्पताल ९० वर्षअघि तीनवटा शैयासहित सञ्चालनमा आएको थियो । एक शताब्दी पुग्न लागेको अस्पतालको पाँच/छ वर्षअघिसम्म दयनीय अवस्था थियो । दक्ष चिकित्सक अभाव थिए । पूर्वाधार र उपचारका लागि आधुनिक उपकरण थिएनन् । बिरामीले चिकित्सकको मुहार कहिलेकाहींमात्र देख्न पाउँथे ।

फेरिँदै भीम अस्पताल

अस्पतालको दरबन्दीमा चिकित्सक त हुन्थे । भनसुन र पहुँचका आधारमा धेरै चिकित्सकले आफूलाई पायक पर्ने र अनुकूल स्थानमा काज मिलाउँथे । यतिसम्म कि आफू अन्तै काम गर्ने तर तलब सुविधा भने भीम अस्पतालबाट खाने गर्थे ।

अस्पताल एक दशकअघिसम्म अहेबले धानेका थिए । त्यसपछि छात्रवृत्तिमा एममबीबीएसको अध्ययनपछि अभ्यासका लागि इन्टर्नसिप गर्न आउने चिकित्सकले धाने । अधिकांश बिरामीले विशेषज्ञ सेवा पाउनबाट वञ्चित थिए । अहिले अस्पतालले मुहार फेर्न थालेको छ । अस्पतालमा अहिले २६ जना चिकित्सक उपलब्ध छन्, जसमध्ये मेडिकल सुपरिटेन्डेन्टसहित एक दर्जनले विशेषज्ञको सेवा दिइरहेका छन् । अपांगता भएकाका लागि लिफ्टसहितको संरचना र अत्याधुनिक उपकरण उपलब्ध छन् ।

‘अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएका छौं,’ अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट शकुन्तला गुप्ताले भनिन्, ‘विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै लैजाने तयारीमा छौं ।’ अस्पतालको सेवा प्रभावकारी बन्दै जान थालेपछि बिरामीको चाप पनि बढ्दै जान थालेको उनले बताइन् ।

तत्कालीन प्रधानमन्त्री भीमशमशेरको पालामा वि.सं. १९९० मा स्थापना भएको यो अस्पताल रूपन्देहीको जिल्ला अस्पताल हो । धेरै वर्षसम्म यो अस्पताल सरकारी बेवास्ताको सिकार बनिरह्यो । विपन्न वर्गका बिरामी उपचारार्थ आर्थिक अभावले अन्यत्र जान नसक्ने भएकाले यस अस्पताललाई ‘गरिबको अस्पताल’को संज्ञा दिइन्थ्यो ।

भीम अस्पताललाई २०३५ सालमा १५, २०४१ मा २५, आव २०७६/७७ मा ५० शैयामा विस्तार गरिएको थियो । अस्पतालको आन्तरिक स्रोतबाट समेत व्यवस्थापन गरी अहिले अस्पतालमा १ सय २० वटा शैया कायम गरिएको छ, जसमध्ये ७ वटा बेड आईसीयू, २५ वटा एचडीयू, २५ वटा आकस्मिक कक्ष, प्रसूतितर्फ २७, पीआईसीयू ५, एनआईसीयूमा २, भेन्टिलेटरसहितका ५ वटा अक्सिजन पोस्टअप शैया उपलब्ध छन् । सबै बेडमा अक्सिजन सेवा उपलब्ध छ ।

अस्पतालमा हाल उपलब्ध एउटामात्र अप्रेसन थिएटर प्रसूति कक्षमा मात्र प्रयोग भएकाले अन्य बिरामीको शल्यक्रियाका लागि यसै आर्थिक वर्षदेखि अर्को अप्रेसन थिएटर सञ्चालनमा ल्याइने अस्पतालका प्रशासकीय प्रमुख गोविन्द ज्ञवालीले बताए । ‘सीटी स्क्यान सेवा पनि यसै वर्षदेखि सुरु हुँदैछ,’ उनले भने, ‘दुईवटा रेडियोलोजिस्ट राख्ने तयारी गरिएको छ ।’

हाल अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, प्रसूति सेवा, एक्सरे र गर्भवतीको शल्यक्रिया सेवा उपलब्ध छ । अस्पतालमा थारु समुदायमा हुने सिकलसेलको निःशुल्क रक्त परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारले कोभिड अस्पतालका रूपमा प्रयोग गरेपछि र जनशक्ति र उपकरण उपलब्ध गराएपछि मुहार फेर्न थालेको प्रशासकीय प्रमुख ज्ञवालीले बताए ।

‘प्रदेश सरकारले जनशक्तिसहितको आईसीयू, भेन्टिलेटर र प्रयोगशालामा धेरै रोगको रक्त परीक्षण हुने उपकरण उपलब्ध गराएको छ,’ ज्ञवालीले भने । ‘लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठान’ ले ३ करोड २५ लाख रुपैयाँ लागतमा लिफ्टसहितको दुईतले भवन पनि निर्माण गरिदिएको छ ।

प्रकाशित : भाद्र १८, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?