सडक अतिक्रमण हटाउन अड्चन- लुम्बिनी - कान्तिपुर समाचार

सडक अतिक्रमण हटाउन अड्चन

जमुनाह–कोहलपुर चार लेन सडक र प्रस्तावित क्रिकेट मैदान स्थलमा अधिक अतिक्रमण, हटाउन खोज्दा व्यवसायीद्वारा विरोध
ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा सरकारी जग्गा र सडक क्षेत्रमा अतिक्रमण गरी ठूल्ठूला संरचना निर्माण गरिएको छ । अतिक्रमण गरिएका स्थानमा ठूला संरचना निर्माण भइसकेकाले हटाउन अप्ठ्यारो भएको पालिकाले जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउँदै । तस्बिर : ठाकुरसिंह/कान्तिपुर

सबैभन्दा ठूलो समस्या नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्मको राजमार्ग र कोहलपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गामा देखिएको छ । नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्मको चार लेन सडकलाई राजमार्गको मापदण्डअनुसार विस्तार गर्न पटकपटक प्रयास हुँदै आएको छ ।

तर, विभिन्न जटिलताका कारण अतिक्रमण हट्न सकेको छैन । मापदण्डअनुसार सडकलाई ५० मिटर चौडा गर्न सडक डिभिजन कार्यालय नेपालगन्जले ५ महिनाअघि काम सुरु गरेको थियो । तर, अतिक्रमण हटाउन नसकेपछि कार्यालय पछि हटेको थियो ।

५० मिटर चौडा हुने गरी राजमार्ग विस्तार गर्दा उपमहानगरको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, कर्णाली प्रहरी तालिम केन्द्र, खाद्य सामग्री कम्पनी लिमिटेड, प्रहरी व्यायामशालालगायतका दर्जन बढी सरकारी कार्यालय नै भत्किन्छन् । त्यस्तै, राजमार्गको जग्गामा निर्माण गरिएका झन्डै १ हजार घर भत्किने देखिएको छ ।

उपमहानगर प्रमुख प्रशान्त विष्टले तत्कालका लागि फाट्टफुट्ट अतिक्रमण हटाइरहेको बताए । जमुनाह–कोहलपुर सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउँदा धेरै क्षति हुने भएकाले लगत लिने, अतिक्रमण आफैंले हटाउने गरी पत्राचार गरिरहेको उनले जनाए । ‘एकाध पसल हटाउन सुरु गरिसकेका छौं । ठूला संरचना हटाउन छलफल चलिरहेको छ,’ उनले भने, ‘संरचना हटाउन सूचना दिनैपर्‍यो ।’ त्रिभुवन चोक, बसपार्क क्षेत्रमा अतिक्रमण हटाउन थालिएको छ ।

सडक अतिक्रमण हटाउन पालिकाले छलफल गरिरहँदा जमुनाह–राँझा सडक स्तरोन्नतिका लागि ४२ करोड रुपैयाँमा टेन्डर खोलिएको छ । भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री मोहम्मद इस्तियाक राईले केही दिनअघि त्यसको उद्घाटन गरिसकेका छन् ।

कोहलपुरले बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाउन खोज्दा विवाद भएको छ । नगरपालिकाका कारण मारमा परेको भन्दै व्यवसायी विरोधमा उत्रिएका थिए । कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले अतिक्रमण हटाउन सर्वपक्षीय छलफल गरिरहेका छन् । अतिक्रमण हटाउने प्रयास गर्दा विभिन्न समस्या आइरहेको उनले सुनाए । ‘अतिक्रमण हटाउँदा राजनीति पनि भइरहेको छ,’ उनले भने, ‘स्थानीय प्रशासनले पनि सहयोग गरिरहेको छैन ।’

कोहलपुरमा रहेको क्रिकेट खेल मैदानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन समस्या देखिएको छ । क्रिकेट मैदानको जग्गामा सरकारी कर्मचारीले पनि घर बनाएर बसेको उनले सुनाए । ‘सरकारी जग्गा अतिक्रमण गरी टहरा निर्माण गरिएका छन् । केही त नेपाल सरकारको तलब खाने कर्मचारी पनि छन्,’ उनले भने ।

नगरपालिकाले क्रिकेट खेल मैदानका लागि ४ बिघा १९ कट्ठा जग्गा छुट्याएको छ । उक्त जग्गामा ७ सय घर निर्माण भइसकेका छन् । अतिक्रमण हटाउन नसक्दा सरकारले विनियोजन गरेको बजेट हरेक वर्ष फिर्ता हुने गरेको छ ।

प्रकाशित : भाद्र १८, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

रोपाइँकै बेला नहर सुक्खा

ठाकुरसिंह थारू

नेपालगन्ज — बबई सिँचाइ आयोजनाको सहायक नहर किसानको खेतखेतमा पुगेको छ । तर, रोपाइँ गर्ने समयमा नहरमा पानी नबग्दा किसान आक्रोशित बनेका छन् । किसानहरू ट्युबवेल, खल्डाखुल्डीको पानीले जेनतेन रोपाइँ गर्ने प्रयास गरिरहेका छन् । खेत काटेर नहर बनाउन दिए पनि रोपाइँ गर्ने बेला सिँचाइ गर्न नपाएपछि किसान आक्रोशित बनेका हुन् ।

‘खेतीयोग्य जमिन काटेर नहर बनाउन दियौं । तर, यो त नाम मात्रैको भयो । चाहिएका बेला कहिल्यै सिँचाइ गर्न पाइँदैन,’ बर्दियाको बढैयाताल गाउँपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, ‘जब भारी वर्षा सुरु हुन्छ, तबमात्र नहरमा पानी आउँछ ।’

लामो समयसम्म वर्षा नहुँदा बर्दियाका किसानले रोपाइँ गर्न पाएका छैनन् । जिल्लाको पूर्वी क्षेत्रमा रोपाइँ सुरु नै भएको छैन । बर्दियाको ३६ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने उद्देश्यले बबई सिँचाइ आयोजना सुरु गरिएको हो । बबई नदीभन्दा पूर्वमा करिब १९ हजार र पश्चिममा २१ हजार जग्गा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । तर, किसान सिँचाइबाट बञ्चित हुँदै आएका छन् । आयोजनामा १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार लागत लाग्ने र आर्थिक वर्ष ०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । ‘नहर बनेको छ । तर, नहरमा पानी नबग्दा रोपाइँ गर्न समस्या भइरहेको छ,’ बाँसगढी नगरपालिकाको मोतीपुरका किसान वसन्त चौधरीले भने, ‘पानी परेको छैन । नहर सुक्खै छ । अनि, रोपाइँ कहाँबाट गर्ने ?’

नहर निर्माण गर्दा परम्परागत कुलो मासिएको छ । नहर बन्नुअघि स्थानीय किसानले परम्परागत कुलोबाट सिँचाइ गर्थे । १५ वर्षअघि आयोजनाको डीपीआर तयार गरिएको थियो । बबई नहर आयोजनाले आर्थिक वर्ष ०६१/६२ मा नहर बनाउने काम सुरु गरेको हो । बबई सिँचाइ आयोजना बर्दियाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले नदीमा पानीको मात्रा कम भएकाले नहरमा पानी नभएको बताए । उनले बबई नदीको थोरै पानी नहरमा छोडिएको सुनाए । ‘खोलामा पानी छैन । भएको पानी पूर्व र पश्चिम दुवैतर्फ छाडेका छौं । नहरमा छाडिएको पानी लुटालुट छ,’ उनले भने, ‘यताबाट छाडिएको पानी तलका किसानको खेतसम्म पुग्नै पाएको छैन । माथिकै किसानले नहर बन्द गरेर सिँचाइ गरिरहेका छन् ।’ उनले नहरको पानी माथिकै किसानले राति थुनेर सिँचाइ गरिरहेको बताए । ‘अब पालैपालो सिँचाइ गर्न मिल्ने गरी नियम बनाउँछौं,’ उनले भने ।

गत वर्ष पूर्वी क्षेत्रको नहरमा पानी छाडिएको थियो । आयोजनाका अनुसार मूल गेटबाट बबईको पानी पश्चिम २८ किलोमिटर र पूर्वी क्षेत्रको ३४ किलोमिटर दूरीसम्म नहरमा पानी पुगेको थियो । हाल बबई नहरमा पानीको मात्रा निकै कम छ । वर्षाका बेला नदीमा पानीको मात्रा ३० क्युसेक्ससम्म हुन्छ । अन्य समयमा ५ क्युसेक्स पानी बबईमा बग्छ ।

आयोजनाका अनुसार ९१ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । शाखा र उपशाखा नहर ३ सय १३ किलोमिटर निर्माण भएका छन् । बबई सिँचाइ आयोजनाका लागि आवश्यक पर्ने पानीका लागि भेरी बबई डाइभर्सन आयोजना सुरु गरिएको छ । पहिलोपल्ट भेरीबाट बबई नदीमा ८ देखि १० घनमिटर प्रतिसेकेन्ड पानी छोडिएको थियो । भेरी बबई डाइभर्सनको पानीले बर्दियामा बाह्रै महिना सिँचाइ हुने लक्ष्य छ । भेरीको पानी सुरुङमार्फत बर्दियाको चेपाङस्थित बबई नदीमा खसाउने तयारी छ ।

मूल गेटको पूर्वीतर्फको पदनहा, बानियाभार, मगरागाडी, धधबार, महमदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँसगढी र पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वार, मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिँचाइ हुने आयोजनाको दाबी छ । तर, निर्माणको काममा ढिलाइ र निर्माण भइसकेका संरचनाहरू भत्किँदै गएका कारण आयोजनाको काम दिन–प्रतिदिन पर धकेलिँदै गएको छ ।

प्रकाशित : असार २४, २०७९ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×