आवश्यक युरिया १५ हजार, वितरण ७९२ मेट्रिक टन

किसान भन्छन्– ‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो’
मनोज पौडेल

कपिलवस्तु — मागभन्दा ढिलो वितरण भइरहेको रासायनिक मल पनि अपुग भएपछि किसान चिन्तित बनेका छन् । पर्याप्त मल नपाउँदा पाएको परिणाम पनि ‘निल्नु न ओकल्नु’ जस्तो भएको किसानको गुनासो छ ।

आवश्यक युरिया १५ हजार, वितरण ७९२ मेट्रिक टन

‘पहिला निकै भनसुन गरें,’ कपिलवस्तु–६ बर्मेलीका रामगोविन्द चौधरीले भने, ‘बल्लबल्ल दुई बोरा युरिया र एक बोरा डीएपी पाएँ ।’ उनलाई १० बोरा युरिया र चार बोरा डीएपी चाहिन्थ्यो । अहिले पाएको थोरै मल कहाँ छर्ने भन्ने चिन्तामा उनी छन् ।

‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो,’ उनले दुखेसो पोखे । जिल्लाकै यशोधरा गाउँपालिका–६ का राजु पाण्डे आवश्यकताअनुसार मल नपाएको गुनासो गर्छन् । ‘जोखना हेर्ने गरी मल वितरण गरियो,’ उनले भने, ‘त्यो निल्नु न ओकल्नु भएको छ ।’ आवश्यकताभन्दा कम मलखाद वितरण गरिएको उनले बताए । ढिलो रोपाइँ गरेका किसान मल अभावले समस्या र चिन्तामा छन् । जिल्लालाई धान खेतीका लागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भदौमा ७ सय ९२ मेट्रिक टन युरिया र ६३ मेट्रिक टन डीएपी मात्र वितरण गरिएको छ ।

एउटा सहकारीलाई १८–२० बोराका दरले डीएपी बाँडिएको छ । त्यसअघि धानको बीउ छर्ने बेला जेठमा युरिया वितरण गरिएको थिएन । त्यसबेला डीएपी मल पनि पर्याप्त थिएन । यो वर्ष २ सय ३५ मेट्रिक टन मात्र डीएपी वितरण गरिएको छ । त्यो पनि पँहुच हुनेले मात्र पाएको कपिलवस्तु–३ सड्वाका कृष्ण कोहारले आरोप लगाए । ‘भारतबाट जेनतेन डीएपी ल्याएर खेतमा छरेर बीऊ राखेँ,’ उनले भने, ‘तर मल राम्रो नपर्दा बीउ सप्रिएन । यस वर्ष चुलोचौको गर्नगाह्रो हुने भो ।’

जिल्लालाई अहिले आएको ७ सय ९२ मेट्रिक टन युरिया मल १० स्थानीय तहलाई बाँडिएको छ । खेतीयोग्य जमिनका आधारमा कृषि ज्ञान केन्द्रको रोहवरमा वितरण गरिएको हो । तौलिहवा र बहादुरगन्जमा रहेको कृषि सामग्री लिमिटेड कम्पनीले सहकारीमार्फत किसानलाई मल दिइरहेको छ । खासमा बीउ छर्ने बेला डीएपी चाहिन्छ तर त्यतिबेला उपलब्ध भएन । अहिले धानले गाँज हाल्ने बेला हो । यसबेला युरिया मल राख्नुपर्छ । ‘त्यो पनि आवश्यकताअनुसार वितरण भएन,’ अगुवा किसान चर्तुभुजमणि त्रिपाठीले भने, ‘वर्षा पनि राम्रो भएको छैन । किसानले मल पनि पाएनन् । खेतमा धाँजा फाटेको छ । अब कसरी घरगर्जो गर्ने चिन्ताले थलिएका छौं ।’

भदौ अन्तिम र असोज पहिलो सातातिर धान पसाउने बेलामा पनि युरिया हाल्नुपर्छ । त्यतिखेर पनि मल पाउने उनलाई आशै छैन । अहिले आएको युरिया भदौ १७ सम्म वितरण गरेको कृषि सामग्री कम्पनी तौलिहवाका प्रबन्धक प्रकाशचन्द्र ज्ञवालीले बताए । ‘अब धानका लागि मल आउने सम्भावना छैन,’ उनले भने, ‘गँहु र तोरीका लागि दसैंपछियुरिया मल आउँछ ।’

अहिले कोलकाता आइपुगेको मल क्षेत्रीय कार्यालयमार्फत यहाँ आउने हो । गोदाममा युरिया र डीएपी मौज्दात छैन । ८० मेट्रिक टन पोटास मात्र मौज्दात छ । ‘मल नहुँदा बीउ पनि राम्ररी उम्रेन,’ महाराजगन्ज नगरपालिकाका किसान कृष्ण यादवले भने, ‘अहिले गाँज लाग्ने बेला युरिया छर्न नपाउँदा धान पहेंलै हुन थालेको छ ।’ सरकार किसानमैत्री नभएकाले खेतीपाती गर्न जाँगर नचलेको उनले सुनाए । ‘अब विदेशिनुको विकल्प देखेको छैन,’ उनी निराश सुनिए । जिल्लामा यस वर्ष ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । मल अभावसँगै पर्याप्त वर्षा नहुँदा उत्पादनमा कमी आउने ज्ञान केन्द्रका प्रमुख रवीन्द्रचौबेले बताए ।

प्रकाशित : भाद्र १७, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?