१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्पताल प्रमुख नहुँदा समस्या

रोल्पा — जिल्ला अस्पतालमा लामो समयदेखि कार्यालय प्रमुख नियमित नहुँदा कामकाजमा समस्या देखिएको छ । कार्यालय प्रमुख नियमित हुन नसक्दा कार्यालय व्यवस्थापन, समन्वय र नीति एवं योजना निर्माण एवं कार्यान्वयनमा समस्या हुँदै आएको हो ।

अस्पतालमा पछिल्लो दुई वर्षदेखि कार्यालय प्रमुख नियमित छैनन् । सरकारले पछिल्लो पटक बुटवलस्थित लुम्बिनी अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई काजमा निमित्त कार्यालय प्रमुखका रूपमा पठाए पनि उनले दुवै अस्पतालमा काम गर्नुपर्ने भएकाले रोल्पा अस्पतालमा समस्या यथावत् रहेको हो । रोल्पा अस्पताल निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो । अनियमित उपस्थित भएकी कार्यालय प्रमुख डा. सबु काफ्लेलाई सरकारले दुई वर्षअघि सरुवा गरेको थियो ।

नियमित रूपमा रोल्पा अस्पतालको कार्यालय प्रमुख नभएकाले एकातिर बिरामीको उपचारमा जिम्मेवारी न्यून भएको छ भने अर्कातिर निर्माणाधीन अस्पतालको काममा ढिलाइ भइरहेको छ । ठेकेदार कम्पनीले काम गर्न ढिलो गरे पनि कार्यालय प्रमुखको अनुपस्थितिमा रेखदेख गर्ने र झकझकाउने जिम्मेवार व्यक्तिको अभाव देखिएको छ ।

दुई वर्षअघि निर्माण सकिसक्ने सम्झौता गरेको ठेकेदार कम्पनी जयन्ती निर्माणले रोल्पा अस्पतालको भवन अझै निर्माण सकेको छैन । ठेकेदार काठमाडौं बस्दै आएका रोल्पाको गाम निवासी खगेन्द्र बुढामगरले बेवास्ता गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । भवन निर्माण सम्झौता गरेको भवन डिभिजन कार्यालयले समेत बेवास्ता गरेको छ ।

प्रकाशित : भाद्र १६, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?