२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पुस्तकबिनै परीक्षा

शैक्षिक सत्र सुरू भएको साढे चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक अभाव
शमशेरविक्रम जीसी

प्यूठान — पाठ्यपुस्तकबिनाको पढाइ कस्तो होला ? विद्यालयमा पढायो, सकियो । घरमा गएर के पढ्ने, के हेरेर गृहकार्य गर्ने ? ‘किताबबिनै पहिलो त्रैमासिक परीक्षा दियौं,’ नौबहिनी गाउँपालिकास्थित दुर्गा माध्यमिक विद्यालयकी एक विद्यार्थीले भनिन्, ‘किताबै नदेखी दिएको परीक्षाको रिजल्ट कस्तो आउला ?’

पुस्तकबिनै परीक्षा

किताबबिनाको पढाइले पहिलो साढे चार महिना काटिसकेको विद्यार्थीको गुनासो छ । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थी पुस्तकबिनै पढ्न बाध्य भएका हुन् । ‘किताब नहुँदा घरमा गएर गृहकार्य गर्नै पाएका छैनौं,’ दुर्गा माविका एक विद्यार्थीले भने, ‘पुस्तकबिना पढ्न साह्रै समस्या भएको छ ।’

नयाँ पाठ्यपुस्तक लागू भएको कक्षाका लागि अहिले जिल्लामा पुस्तक अभाव छ । पाठ्यपुस्तक नआउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको दुर्गा माविकी शिक्षक सुशीला गिरीले बताइन् । घरमा गएर पढ्नु भनेर भन्नै नसकिएको र विद्यालयमा पनि पढाउन समस्या हुने गरेको उनले सुनाइन् । ‘कक्षा ४, ६ र ८ को पुस्तक पाउन सकिएको छैन,’ उनले भनिन्, ‘शैक्षिक सत्र सुरु भएको साढे चार महिनासम्म विद्यार्थीलाई पुस्तक आउँछ आउँछ भनेर थुमथुम्याएका छौं ।’

माण्डवी गाउँपालिका–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक यामबहादुर केसीले पनि पालिकाभरि कक्षा ४, ६ र ८ का पुस्तक नआएको जानकारी दिए । ‘किताबबिनै त्रैमासिक परीक्षा दिलाइयो । अब कस्तो परिणाम आउने हो ?’ उनले भने, ‘विद्यार्थीले किताब नहुँदा राम्रोसँग अध्ययन गर्नै पाएका छैनन् ।’ गृहकार्य दिन पनि समस्या भएको प्रधानाध्यापक केसीले सुनाए । यस वर्षदेखि नयाँ पाठ्यक्रमसमेत लागू भएको छ । तर, नयाँ पाठ्यक्रम लागू हुनु र पाठ्यपुस्तक समयमै नआउनु एकैपटक जस्तै भएको छ ।

कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम लागू भएको माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बताए । गाउँपालिकाले नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरणसमेत गराएको थियो । तर, अहिलेसम्म किताब नआएको शिक्षा शाखा प्रमुख कार्कीको भनाइ छ । ‘किताब नहुँदा पठनपाठन नै रोकिने अवस्था आएपछि विद्यालयलाई वेबसाइट हेरेर नयाँ पाठ्यक्रम पठनपाठन गराउन भनिएको छ,’ उनले भने ।

विद्यार्थी संख्याजति पाठ्यपुस्तक नआए केही पुस्तक हालै आएकाले पठनपाठनमा राहत मिलेको ऐरावती गाउँपालिका–३ स्थित धर्मोदय माध्यमिक विद्यालयका शिक्षक शरद पोख्रेलले बताए । जिल्लामा कक्षा ६, ८, ११ र १२ कक्षाको किताब अभाव छ । त्यस बाहेकका किताब पनि पर्याप्त छैनन् । जिल्लाका ९ वटै पालिकामा पाठ्यपुस्तक पुग्न नसकेको सरोकारवाला निकायको गुनासो छ । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको विषयमा सरोकारवाला निकायसँग नियमित समन्वय भइरहेको स्थानीय तहका शिक्षा शाखा प्रमुखको भनाइ छ । जिल्लामा पुस्तक आपूर्ति गर्दै आएका व्यवसायीसँग पनि नियमित छलफल र थप पहल गरिरहेको झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बीसीले बताए । केही दिनमा पुस्तक आउने जानकारी दिइए पनि कहिलेसम्म विद्यार्थीले पुस्तक पाउँछन् भन्ने यकिन छैन ।

‘नेपालगन्ज, बुटवल, भरतपुर केन्द्रमा पनि किताब नभएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका सचिव रमेश गिरीले बताए । जिल्लामा विद्यार्थीले किताब नपाएको र यसका लागि धेरै ठाउँमा प्रयास गर्दा पनि उपलब्ध गराउन नसकिएको उनले सुनाए । ‘यतामात्रै होइन, केन्द्रमा पनि पुस्तक अभाव छ,’ उनले भने, ‘केन्द्रले पठाएमा हामी जुनसुकै बेला पनि किताब ल्याएर विद्यालयमा पुर्‍याउन तयार छौं ।’ नयाँ पाठ्यपुस्तक छपाइमै ढिलाइ भएको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७९ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?