गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ

माधव ढुंगाना

भैरहवा — भैरहवा–परासी सडक खण्ड अन्तर्गत भैरहवा नजिकैको बाइपास रोडमा साउन २९ गते राति एक युवकमाथि गोली प्रहार गर्ने दुई जनालाई पक्राउ गरी प्रहरीले बुधबार घटना सार्वजनिक गरेको छ ।

गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका –४ दोगरा बस्ने २१ वर्षीय मोहम्मद असरद मुसलवान छन् । उनीहरूबाट एक थान स्वचालित अमेरिकन पेस्तोल र घटनास्थलबाट लुटिएको एक थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, साउन २९ गते राति करिब ९ बजे बाइपास रोडस्थित न्यु सिद्धार्थ रेष्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइलसमेत लुटेर भाग्दै गरेको अवस्थामा पिछा गरेर उनीहरूलाई रोक्ने क्रममा उनीहरूले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी २८ वर्षीय विकास गुरुङमाथि गोली प्रहार गरेका थिए ।

उनीहरुको प्रहार गरेको गोली गुरुङको बायाँ कोखमा लागी घाइते भएका थिए । तत्कालै उनलाई भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा लगी उपचार गराइएको थियो ।

रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले लुटेराको उक्त समूहले लुटेर भाग्ने क्रममा बाइपास नजिकै पछाडिबाट विकास गुरुङले मोटरसाइकलबाट पिछा गरी रोक्न खोज्दा एउटा मोटरसाइकलमा सवार तीन जनाको लुटेरा समूहमध्ये बीचमा बस्नेले गोली प्रहार गरेको बताए ।

यस घटनामा संलग्न तीन जनामध्ये एक जना फरार रहेको र उनको पनि पहिचान भइसकेको एसपी रेग्मीले बताए । पक्राउ परेका पवनराज भर यस अघि पनि सार्वजनिक अपराध, लागूऔषध, डाँका, चोरी, र रजहनी चोरी सम्बन्धी अपराधमा मुद्दा चलेर सजाय पाइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?