प्यूठानमा भ्यान दुर्घटना हुँदा ८ जना घाइते- लुम्बिनी - कान्तिपुर समाचार

प्यूठानमा भ्यान दुर्घटना हुँदा ८ जना घाइते

शमशेरविक्रम जीसी

प्यूठान — सरुमारानी गाउँपालिकाको कुडुलेमा भ्यान दुर्घटना भएको छ ।

दाङको भालुवाङबाट प्यूठानको बाग्दुला आउँदै गरेको लु २ ख ३५६९ नम्बरको भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घाइते ८ जनालाई उपचारका लागि दर्भान लगिएको र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ६, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

परिवारै प्रहरी

चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ गरी १० जना प्रहरीमा
शमशेरविक्रम जीसी

प्यूठान — घरमा रमाइलो वातावरण थियो । वर्षौंपछि भेट भएका दाजुभाइ खुलेर कुराकानी गरिरहेका थिए । त्यसअगाडि फोनमा दुःखसुख साट्थे । त्यस दिन उनीहरू आपसमा गफिइरहेका देखिए । हाँसोठट्टा पनि चलिरहेको थियो । टाढिएका दाजुभाइको भेटघाट कान्छी बहिनीको बिहेले जुराएको थियो । एकातिर वर्षौंपछि परिवार भेट्दाको खुसी, अर्कातिर प्यारी बहिनीलाई अन्माएर पठाउँदाको दुःख पनि सँगसँगै थियो । 

प्यूठान नगरपालिका–८ मानागाउँका भोजबहादुर विकका सन्तानहरूबीच भेटघाट दुर्लभ हुनुको एउटै कारण छ परिवारका १० जना नेपाल प्रहरीमा कार्यरत हुनु । उनीहरू विभिन्न ठाउँ र समयमा भर्ना भएका मात्र होइनन्, कार्यरत रहेका ठाउँ पनि फरक छन् । त्यसैले एकैपटक सबै जना एउटै थलोमा भेला हुनु संयोग नै भएको हो ।

मानागाउँका ६२ वर्षीय भोजबहादुरका चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ प्रहरी सेवामा छन् । भोजबहादुरले आफू १९ वर्षको हुँदा बिहे गरेको बताए । जेठो छोरा अहिले ३८ वर्षका भए । ‘पहिले पहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता हुन्थ्यो,’ भोजबहादुरले भने, ‘अहिले त घरका सबै सरकारी जागिरे छन्, खान, लाउन समस्या छैन ।’ उनका ६ छोरा र २ छोरी हुन् ।

‘दुवै छोरी र ज्वाइँ प्रहरी छन्,’ उनले भने, ‘छोराहरूमध्ये माइलो र साइँलोबाहेक सबै प्रहरी छन् ।’ जेठा सुवास, काइँलो सुजल, राइँलो गगन र कान्छो छोरा मोहन प्रहरी छन् । माइलो छोरा विदेश आउजाउ गर्छन् । साइँला छोरा पूर्वमाओवादी लडाकु भएको भोजबहादुरले बताए ।

बुहारी पनि प्रहरीमै जागिरे भएकामा खुसी लाग्ने गरेको उनले सुनाए । ‘पहिले गाउँमा काम मिल्थेन । परिवार पाल्न ९ वर्ष भारतमा रोजगारी गरेको दिन अहिले पनि सम्झन्छु,’ भोजबहादुरले भने, ‘यस्ता दिन आउँदा रहेछन् । दुःख गरेकै कारण भगवान्ले हेरे जस्तो लाग्छ ।’

माइला छोरा पूर्णबहादुरका अनुसार गाउँमै पहिलोपटक अंग्रेजी विषय लिएर उनका जेठा दाइले आईए पढेका थिए । ‘दाइले पनि हाम्रै लागि पाँच वर्ष भारतमा काम गर्नुभयो,’ उनले भने, ‘२०६३ सालमा पहिलोपटक घरबाट जेठो दाइ नेपाल प्रहरीमा भर्ना हुनुभएको हो ।’ त्यसपछि त लगातार पालो लागेजस्तै भएको उनले बताए । ३८ वर्षीय सुवास अहिले नेपाल प्रहरीमा हवल्दार छन् । उनले जागिर खाएको १६ वर्ष भयो । राइँलो भाइ पहिलो प्रयासमै पास भएको दाइ पूर्णले सुनाए ।

‘राइँलो र काइँलोले सँगै नाम निकालेका हुन्,’ पूर्णले भने, ‘जेठी बहिनीको पनि सँगै हो ।’ तीनै जनाले एकैपटक नाम निकालेको उनले बताए । कान्छो भाइ ६ वर्षदेखि प्रहरीमा कार्यरत रहेको उनले सुनाए । ‘घरको रेखदेख गर्ने, बाबुआमासँग बस्ने म छँदै छु,’ उनले भने, ‘बाहिरबाट दाइ र भाइहरूको सहयोग छँदै छ ।’

जेठी छोरी प्रहरीमा भर्ना भएको ९ वर्ष भएको र कान्छी छोरी ४ वर्षअघि भर्ती भएको भोजबहादुरले बताए । ‘जेठी छोरी अहिले सहायक हवल्दार छे,’ उनले भने, ‘कान्छी सिपाही नै छे ।’ एकै परिवारका १० जना नेपाल प्रहरीमा हुँदा छोराछोरीका लागि केही गरेछु भन्ने लागेको उनी बताउँछन् । ‘गाउँमा शिर ठाडो गराएर हिँड्न सक्ने भएँ,’ उनले भने, ‘मेरा दुःखका दिन अब हराए ।’

देशमा सशस्त्र द्वन्द्वको समयमा साइँलो छोरा तत्कालीन विद्रोही माओवादीमा आबद्ध थिए । जेठो छोरा प्रहरीमा भर्ना भएका थिए । ‘गाउँमा धेरैले अब दुई भाइ छोरा आपसमा लडेर मर्छन् भन्थे,’ भोजबहादुरले सम्झिए, ‘डर पनि लाग्थ्यो ।’ शान्ति सम्झौतासँगै मनमा शान्ति छाएको उनले बताए । ‘गाउँका सबैले एउटा माओवादी र अर्को पुलिस भनेर भन्थे,’ उनले सम्झिए । छोरा, बुहारी, छोरी र ज्वाइँहरू आफ्नै खुट्टामा उभिएपछि दंग परेको आमा वसन्तीले बताइन् ।

‘बाबुको जागिर नहुँदा यत्तिका छोराछोरी कसरी पाल्ने हो भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘बिहान के खाउँ र साँझ के खाउँ हुन्थ्यो । अहिले त्यस्तो केही चिन्ता छैन । घरै रमाइलो छ ।’

प्रकाशित : भाद्र ४, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×