कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पानी नपरेपछि खेतमै सुक्यो धान

सिँचाइ अभावमा १५ प्रतिशत मात्र रोपाइँ भएकोमा पानी नपर्दा रोपेको धान पनि सुक्यो
रूपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले प्रत्येक वर्ष ४२ कट्ठामा धान खेती गर्दै आएका थिए । यसपालि समयमा पानी नपरेपछि १५ कट्ठामा मात्रै रोपाइँ गरे । त्यही धान पनि बोटमै सुकेपछि उनी अहिले निराश छन् । सुकेको धान टुलुटुलु हेर्नुबाहेक उनीसँग अरू विकल्प छैन । त्यही खेतीको भरमा २० जनाको परिवार पाल्दै आएका उनको परिवार दुई सातादेखि खेतमा पुग्न सकेका छैनन् ।

पानी नपरेपछि खेतमै सुक्यो धान

‘खेत हेरे मन त्यसै पोल्छ, त्यसैले जानै छाडें,’ उनले भने, ‘२७ कट्ठा खेत बाँझै छ । रोपाइँ गरेको खेत पनि सबै सुक्यो । अब भोकै बस्नुपर्ने दिन आउने होला ।’ असार र साउनमा एक पटक मात्र पानी पर्‍यो । उक्त वर्षाले एउटा खाल्टो पनि नभरिएको उनले सुनाए ।

नरैनापुर–५ मोतीपुरका शशिराम बुढाथोकीको १५ कट्ठा खेत छ । त्यसमध्ये सात कट्ठामा धान रोपेका छन् । जमिनमुनिबाट पानी तानेर रोपेका थिए । अहिले मोटर चलाउँदा पानी आउँदैन । बोरिङ चलाउन पैसा छैन । एक कट्ठा खेतका लागि तीन/चार घण्टा पानी चलाउँदा १ हजार ६ सय रुपैयाँ खर्च लाग्छ । ‘पैसा हुनेले त गर्लान्,’ उनले भने, ‘हामीजस्ता गरिबले रोपाइँ गर्न त्यत्रो पैसा कहाँबाट ल्याउने ?’ लामो खडेरीका कारण नरैनापुरका ह्यान्डपाइप र बोरिङबाट पानी आउन छाडेको छ । बोरिङ र ह्यान्डपाइपले एक–दुई गरा खेतमा रोपेको धान पनि सुकेको छ ।

नरैनापुर–५ का रामनिवास यादवले डेढ बिघा जमिनमा धान र मकै लगाएका छन् । ‘पानी लगाउँदै गयो, पानी सुक्दै जान्छ । खेत पनि भिज्न पाउँदैन,’ उनले भने, ‘नहर खनिसकेको अवस्थामा पानी छोडदिएको भए पनि हुने । राप्तीको पानी भारतमा त्यसै बगिरहेको छ । यता हामी पानीबिना छट्पटाइरहेका छौं ।’

आकाशे पानीको भरमा रोपाइँ गरेका यहाँका किसानले अहिले पानी नपर्दा समस्या भोगिरहेको बताए । नरैनापुरको धेरै जमिन अहिले बाँझै छ । नरैनापुरमा ४ हजार २ सय हेक्टर जमिनमा धान खेती हुँदै आएकामा अहिले १५ प्रतिशतमा मात्रै रोपाइँ भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । ‘यहाँ १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । त्यही रोपो पनि पानी नपर्दा सुकेको छ,’ उनले भने, ‘खेतीमै निर्भर किसानको बिजोग छ ।’ पानी अभावमा छट्पटाइरहेका किसानलाई स्थानीय तह एवं कुनै पनि निकायबाट राहतको कार्यक्रम नपुगेको उनीहरूले बताए । ‘भूमिगत सिँचाइमा पानी रिचार्जको समस्या प्रमुख हो,’ कृषि ज्ञान केन्द्र प्रमुख सागर ढकालले भने, ‘भोलि गएर खानेपानीको समस्या पनि पर्न सक्ने अवस्था छ । त्यसैले वैकल्पिक बालीको अवधारणा ल्याउने प्रयासमा छौं ।’ यसका लागि प्रदेश र संघीय सरकारसँग सहयोगका लागि समन्वय गरिरहेको उनले बताए ।

नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

पानी अभावमा रोपाइँ हुन नसकेपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकामा १५ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको र त्यही धान पनि सुक्दै गएपछि गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा गरेको हो । ‘किसानको मर्म प्रकृतिले पनि बुझेन । नेपालगन्जमा परेको पानी नरैनापुरमा परेन,’ गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले भने, ‘मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो । त्यसकारण नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गर्नुको विकल्प रहेन ।’ नरैनापुरमा पानीको संकट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । ‘सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजेलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘संघ र प्रदेशलाई पनि सहयोगका लागि पहल गरिरहेका छौं ।’

प्रकाशित : भाद्र २, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?