एकीकृत सरकारी भवन हस्तान्तरण- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत सरकारी भवन हस्तान्तरण

कान्तिपुर संवाददाता

पाल्पा — तानसेनमा एकीकृत सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । तानसेन नगरपालिका–४, बारुदखानमा निर्माण भएको दुई भवनमा ६० कोठा छन् । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजनाले भवन निर्माण गरेको हो ।

एकीकृत सरकारी भवन बुधबार जिल्लास्थित चारवटा कार्यालयलाई हस्तान्तरण गरिएको छ । मालपोत, नापी, घरेलु तथा साना उद्योग र तथ्यांक कार्यालयका प्रमुखलाई सहरी विकासमन्त्री मेटमणि चौधरीले भवन हस्तान्तरण गरेका हुन् । कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले जनताको दैनिक जीवनसँग सरोकार राख्ने कार्यालय भएकाले सोहीअनुसारको सेवासुविधा प्रदान गर्न पनि कर्मचारीलाई निर्देशन दिए । ‘सरकारको आत्मा बलियो बनाउन जनताको आत्मा पनि बलियो बनाउनु जरुरी छ,’ उनले भने, ‘कर्मचारीले जनताको चित्त नदुख्ने खालको व्यवहार गर्नुपर्छ ।’ भवन निर्माणका लागि ठेक्का भने सात वर्षअघि नै भएको हो । ३० महिनामा सक्ने गरी निर्माण सुरु भएकामा निर्माण कम्पनी रविना कन्स्ट्रक्सन प्रालिले सात वर्षमा निर्माण सम्पन्न गरेको हो । ८ करोड ९७ लाख ३८ हजारमा दुई वटा भवन बनेका छन् ।

संघीय आयोजना कार्यालय भैरहवाका लेखा अधिकृत महेन्द्र पुरीका अनुसार नवनिर्मित कार्यालय भवनमा आवास सुविधासमेत छ । ‘निर्माण क्रममा केही ढिलाइ हुन गए पनि भवन भूकम्पप्रतिरोधी छ,’ उनले भने । भवन निर्माणसँगै जिल्लाका केही कार्यालयले राहत पाएका छन् । संघीय सांसद सोमप्रसाद पाण्डेयले जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालयलगायत कार्यालयको भवनका लागि समेत पहल गर्न माग गरे ।

लुम्बिनी प्रदेश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले जनताको मनोभावना बुझेर सेवा प्रदान गर्नुपर्ने बताइन् । ०६२ सालको तत्कालीन माओवादी आक्रमणबाट पाल्पा दरबार ध्वस्त भएपछि मालपोत कार्यालय र तथ्यांक कार्यालय भाडामा बस्दै आएका थिए ।

प्रकाशित : भाद्र २, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

पुल निर्माण हुँदै, सडक अधुरै

‘गाडी गुड्ने सडकै छैन, अब यो पुलको के काम ?’
कान्तिपुर संवाददाता

सल्यान — सदरमुकाम खलंगादेखि कालीमाटी–दम्दवाली–घुइयाबारी हुँदै बाँकेको चप्परगौडी जोड्ने सडक निर्माणको काम झन्डै ४० वर्षअघि थालियो । बाँके राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र पर्ने कालीमाटी गाउँपालिकास्थित हात्तीदमार र घुइयाबारीमा अझैसम्म पनि सडकको ट्रयाक खुलेको छैन । तर दम्दवाली र हात्तिदमार जोड्ने गरी बबई नदीमा पक्की पुल निर्माणको काम भइरहेको छ ।

झन्डै २ सय २० मिटर लम्बाइ रहेको पक्की पुलको अहिलेसम्म ७० प्रतिशत बढी काम सकिएको छ । राष्ट्रिय योजना आयोगबाट पक्की पुल बन्न थालेको हो ।

०७४ देखि निर्माण थालिएको पक्की पुलको आयोगले २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सडकको काम सम्पन्न नहुँदै करोडौंको पक्की पुल बन्न थालेकोमा स्थानीय खुसी छैनन् । ‘सडक बन्ने कहिले हो कहिले ?, पुल निर्माण भए पनि हामीलाई हर्ष न विस्मात,’ स्थानीय कमल गाहाले भने, ‘मान्छे हिँड्न त २/३ वटा झोलुंगे पुल पनि थिए ।’

सडक पूर्ण रूपमा नजोडिँदै पक्की पुल बन्नु अलि असुहाउँदो जस्तो लागेको कालीमाटी गाउँपालिका–५ दम्दवालीका सुरेशकुमार गाहाले बताए । ‘नदीमा पक्की पुल बन्नु नराम्रो होइन, तर गाडी गुड्ने सडकै छैन,’ उनले भने, ‘अब यो पुलको के काम ?’ सडक निर्माण थालिएको ४० वर्ष पुगे पनि राजनीतिक पहुँच नहुँदा अझै पूरा नभएको बताए । उनका अनुसार २०३८ सालदेखि सडक निर्माणको काम सुरु भएको हो ।

अहिलेसम्म खलंगाबाट दम्दवालीसम्म झन्डै ५० किमि सडक खनिएको छ । तर थप सडक नहुँदा कालीमाटीबाट सुर्खेत वा दाङ हुँदै नेपालगन्ज जानुपर्ने बाध्यता छ । पुलसँगै सरकारले सडक निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने स्थानीय टीकाराम गाहामगरले बताए । ‘पुल निर्माण भए वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यताबाट त मुक्ति पाइन्छ,’ उनले भने, ‘तर सडक निर्माण पनि भए नेपालगन्ज र सुर्खेत जान घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्थो ।’

कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले सडकको कामलाई तीव्रता दिन सडक डिभिजन कार्यालयसँग छलफल गरिएको बताए । ‘मैले पटकपटक डिभिजनसँग छलफल गरिरहेको छु, प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गरिएको छ,’ उनले भने, ‘सडक छिटो निर्माण भए सदरमुकाम खलंगाबाट नेपालगन्ज जान पनि सजिलो हुन्थ्यो, आसपासका जिल्लाहरू रुकुम, रोल्पालगायतका बासिन्दाले पनि सुविधा पाउँथे ।’

प्रकाशित : भाद्र २, २०७९ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×