बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

सल्यान/बर्दिया — सल्यानको कालिमाटी गाउँपालिका ७ बाटुलेस्थित स्थानीय बासिन्दाको घरगोठमा पसेर गाईबस्तु र बाख्रा मारेर खान थालेपछि पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुन्ज, सेना र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

मंगलबार राति स्थानीय तुलसी कुमारी घर्तीको गोठमा बाँधेका दुईवटा गोरु मारेर खाएको र मान्छेलाई पनि दुःख दिएको भन्दै स्थानीयहरूबाट गुनासो आएपछि सुरक्षाकर्मीको टोलीले बुधबार बिहान घर्तीको घरदेखि करिब २ सय मिटर टाढा बाँसघारीबाट पाटे बाघलाई नियन्त्रणमा लिएको हो । यस क्रममा सुरक्षाकर्मीले डाट प्रयोग गरी बेहोस बनाएर बाघलाई नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार उक्त पाटे बाघ अहिले बाँके राष्ट्रिय निकुन्जको रेस्क्यु सेन्टरमा पठाइएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुन्ज नजिकै पर्ने भएकाले निकुन्जबाट बस्तीमा पस्ने गरेका पाटे बाघले बेलाबेलामा स्थानीयले पालेका पसु चौपाया मारेर खाने मात्र नभई स्थानीयलाई समेत दुःख दिँदै आएपछि स्थानीयले प्रहरीकहाँ निवेदन दिने गरेका थिए ।

बाँके राष्ट्रिय निकुन्जले बस्ती छोएको र निकुन्जका बाघ सिधै बस्तीमा पस्ने गरेका कारण आफ्नो ज्यानसमेत जोखिममा पर्दै आएकाले नियन्त्रणका लागि स्थानीयले माग गरेका थिए । स्थानीय नन्दराम घर्तीका अनुसार दिउँसै बस्ती आसपासका जंगलमा बाघ देखिने भएकाले निकुञ्जछेउको बाटो हिँड्न पनि स्थानीयहरू डराउने गरेका छन् ।

जंगली जनावर बाघ मात्र नभई बँदेल र भालुले पनि हैरान बनाएको र बाली नष्ट पार्ने गरेको स्थानीय निर्मल ओलीले बताए । जंगली जानवरको त्रास बढ्दै गएका कारण धेरैले बस्ती छाड्दै गएको पनि ओली बताउँछन् ।

यसअघि घाँस काट्न गएका सुर्खेत भेरीगंगा नगरपालिका—५ की ६६ वर्षीया कबी वली र सोही ठाउँका ४६ वर्षीय राम बहादुर चन्दको बाघको आक्रमणमा मृत्यु भएको थियो ।

नियन्त्रणमा लिएको पोथी बाघ करिब १२ वर्षको बूढो भएको निकुञ्जको आकलन छ । उक्त बाघ नंग्रा र दाँत भाँचिएको घाइते अवस्थामा भेटिएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । बर्दिया निकुञ्ज र खाता जैविकमार्ग अन्तर्गत तीन वर्षयता बाघको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ । बर्दिया निकुञ्जको ठाकुरद्वारामा एक र रम्मापुरमा तीन वटा बाघ रहेका छन् ।

प्रकाशित : भाद्र १, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?