लुम्बिनी सरकारलाई थप विज्ञ नियुक्त गर्ने बाटो खुल्यो- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी सरकारलाई थप विज्ञ नियुक्त गर्ने बाटो खुल्यो

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप विज्ञ नियुक्त गर्ने बाटो खोलिदिएको छ । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर गरी सम्बन्धित सूचना स्वीकृत गर्दै विज्ञ थप्ने बाटो खोलेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तिलकराम शर्माले प्रदेश निर्माण, लगानी सम्मेलन लगायतका काम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विज्ञको आवश्यकता परेकाले यसो गरेको बताए । हाल मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालय सल्लाहकारसहित १८ सदस्यीय छ ।

यस्तै मन्त्रिपरिषद्‍ बैठकले जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । विपद व्यवस्थापनलाई छिटोछरितो बनाउन निर्देशिका बनाएको थियो । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले तयार गरेको हवाई उद्दार सम्बन्धी कार्यविधि, २०७९ पनि स्वीकृत भएको छ ।

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयः लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकले आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद यही भदौ मसान्तसम्म थप्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

प्रकाशित : भाद्र १, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

गोरखा संग्रहालयमा भेटिन्छन् 'पृथ्वीनारायण', फोटो खिचेको पैसा लाग्ने

संग्रहालयमा दिनभर बस्ने 'दुरुस्त पृथ्वीनारायण शाह'ले अब पृथ्वीनारायण शाहका दिव्योपदेश पनि घोकेर कण्ठस्थ पार्ने छन् ।
हरिराम उप्रेती

गोरखा — कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित पृथ्वीनारायण शाहको पहिरनमा सजिएर गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ अब दिनहुँ संग्रहालय परिसरमा भेटिने भएका छन् । संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त वेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै तस्बिर पनि लिन सक्नेछन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले श्रेष्ठलाई गोरखा संग्रहालयमा राख्ने व्यवस्थापन मिलाएको हो ।

‘प्रतिबिम्बमा श्री ५ पृथ्वीनारायण शाह’को बुधबारबाट आरम्भ भएसँगै अब संग्रहालय पुग्ने आगन्तुकले श्रेष्ठसँग तस्बिर र सेल्फी खिच्न पाउने छन् । पृथ्वीनारायण शाहको वेषमा दुरुस्त बनेर सजिएका श्रेष्ठ सँग तस्बिर लिँदा भने शुल्क तिर्नुपर्ने हुन्छ । समितिले विद्यार्थी र स्थानीयलाई २० रुपैयाँ, पर्यटकलाई ५० रुपैयाँ साथै सामूहिक तस्बिर लिएको १०० रुपैयाँ शुल्क तोकेको छ ।संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन शाहको प्रतिबिम्बले सघाउने समितिका सल्लाहकार तथा स्थानीय राजुबाबु श्रेष्ठले बताए । ‘यसलाई हामी सबैले अपनत्व लिनुपर्छ, पर्यटकलाई आकर्षित गर्नका लागि यो कार्यको आरम्भ भएको हो,’ उनले भने । पर्यटक भुलाउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ ।

अब श्रेष्ठलाई दिव्योपदेश घोकेर कण्ठस्थ पार्न लगाउने तयारी गरिएको पनि उनले बताए । पर्यटन प्रतिबिम्बलाई स्थानीयवासी र गोरखालीले अपनत्व लिनुपर्ने श्रेष्ठ बताउँछन् । इतिहासलाई जोडेर पर्यटन प्रवर्द्धनको सुरुआत भएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताए । ‘इतिहाससँग जोडेर पर्यटन प्रवर्द्धनको अन्य गतिविधि पनि सञ्चालन गर्दैछौं,’ उनले भने ।


प्रकाशित : भाद्र १, २०७९ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×