गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी- लुम्बिनी - कान्तिपुर समाचार

गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी

माधव अर्याल

पाल्पा — सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका सरकार सही ढंगले नचल्दा नै अहिलेको अवस्था सिर्जना भएको बताए ।

एकीकृत सरकारी भवनको उद्घाटनका लागि पाल्पा आएका मन्त्री चौधरीसँग नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेन आयोजना गरेको भेटमा भने, ‘अहिले पनि राजनीतिक संस्कृति मैले एक्लै गरेको मात्र होइन, धाक रवाफ देखाउने प्रवृत्तिले पनि समस्या उत्पन्न भएको हो ।’ उनले निर्वाचनपछि पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए ।

मंसिर ४ गतेको निर्वाचनपछि पनि नेतृत्व दिन सक्ने भन्दै उनले जनताको माग सम्बोधन गर्ने र लोकतन्त्रलाई दिगो बनाउन गठबन्धन आवश्यक रहेको बताए ।

‘मुलुकले गलत शासक पायो भने दुःख पाउँछ भन्ने अनुभव गरिसकेका छौं,’ उनले भने, ‘संविधानको विषयमा चिन्ता जाहेर गर्नुपर्ने, कानुनी राज्यको विषयमा चिन्ता गर्नुपर्ने अवस्था ल्याएको विगतका शासक, नेतृत्वका कारण हो भन्ने पुष्टि भइसकेको छ ।’

गलत शासक र नेतृत्वका कारण विगतमा दुःख पाएको भन्दै उनले अब दुःख नपाउने गरी पाँच दलीय गठबन्धन अघि बढेको बताए । मन्त्री चौधरीले भ्रष्ट्रचार, महङ्गीका विषयमा सरकार संवेदनशील रहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि आगामी मन्त्रिपरिषद्‍ बैठकमा छलफल हुने बताए ।

पत्रकारको जिज्ञासामा उनले अब बिस्तारै दुई दलीय व्यवस्थाको अभ्यास भइरहेको पनि बताए । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचन लडेको स्मरण गराउँदै उनले भने, ‘अघिल्लो संसदीय निर्वाचनमा एक्लै चुनाव लड्ने अभ्यासमा २०७४ देखि परिवर्तन हुन थालेको भोगिसकेका छौं ।’

एमालेले पनि अन्य दलसँग गठबन्धन गर्न खोजेको र पाँच दलमा थप केही दलले सँगै निर्वाचन लड्न चाहेको मन्त्री चौधरीले बताए । यस्तै अबको ५–१० वर्षसम्म गठबन्धनको अभ्यास हुनसक्ने उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगको नाममा जग्गा कब्जा

प्रतिरोपनी मासिक ६ सय रूपैयाँ जग्गा भाडामा लिएर पहुँचवाला व्यक्तिको मनपरी 
हरिहरसिंह राठौर

सुर्खेत — वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र उद्योगको नाममा जग्गा भाडामा लिने र कब्जा गर्ने प्रवृत्ति मौलाएको छ । उद्योगको नाममा केही व्यक्तिहरूले ८ वर्षदेखि जग्गा कब्जा गर्दै आएका हुन् । प्रतिरोपनी मासिक ६ सय रुपैयाँ भाडामा लिएर पहुँचवाला व्यक्तिहरूले मनपरी गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयले उनीहरूलाई कारवाही गर्न बल्ल प्रक्रिया थालेको हो । 

एसके प्रिन्ट सोलुसनले २० वर्षका लागि २ रोपनी र देउती हर्बल उद्योगले ४० वर्षका लागि १ रोपनी जग्गा भाडामा लिएको छ । देउतीले जिआईजेटको अनुदानमा देउती हर्वलले कारखानाका लागि भवन बनाएको छ । तर, मेशिन ८ वर्षदेखि नल्याएर जग्गा कब्जा मात्रै गरेको पाइएको छ । २६ जना साझेदार रहेको देउतीले अहिलेसम्म अनुदानमा पाएको साबुन उद्योगको मेसिनबाहेक अरु कुनै पनि उपकरण ल्याउन नसकेको हो । औद्योगिक क्षेत्र सञ्चालन तथा ब्यवस्थापन नियमावलीअनुसार २०७१ वैशाख १७ अघि २० वर्ष र त्यसपछि ४० वर्षसम्म जग्गा भाडामा दिने प्रावधान छ ।

नियमअनुसार जग्गा भाडामा लिएको २ वर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने हुन्छ । सम्झौता भएको २ वर्षभित्र उद्योग सञ्चालन नभए जग्गा खाली गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले बताए । ‘पहिलो चरणमा उद्योग सञ्चालकसँग छलफल भइरहेको छ, अब उद्योग सञ्चालन नगरे ७ दिने र ३५ दिने सूचना निकाल्ने तयारी गरेका छौं,’ उनले भने ।

अहिले सञ्चालनमा रहेका २२ वटा उद्योगबाट करिब ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रभित्रका २७ उद्योगमा २२ वटा सञ्चालनमा छन् । ३ वटा निर्माणाधीन छन् भने २ वटा उद्योगले जग्गा कब्जा मात्र गरेका छन् । लगानी अभाव, विद्युत् समस्या, सरकारको झन्झटिलो प्रक्रियालगायत कारण ९० रोपनी जग्गामा फैलिएको औद्योगिक क्षेत्रमा ठूला उद्योग सञ्चालनमा आउन नसकेको बञ्जाडेले बताए । अहिले यहाँ २० करोडमुनि लगानी रहेका उद्योग मात्र सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्रभित्र कार्यविधिविपरीत काष्ठ उद्योग पनि सञ्चालनमा रहेको प्रमुख बञ्जाडेले बताए । उनका अनुसार काष्ठ उद्योगहरूले मात्रै धेरै जग्गा ओगटेपछि अन्य उद्योगहरूलाई जग्गा अपूग भइरहेको छ । कर्णालीमा लगानीको वातावरण सरकारले तयार नगर्दा पनि ठूला उद्योग सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

‘संघ र प्रदेश सरकारले उद्योग स्थापनाका लागि आर्कषणका योजना ल्याउन जरुरी छ,’ उनले भने, ‘ औद्योगिक क्षेत्र स्थापना भएको ४१ वर्षसम्म पनि सोचेजस्तो प्रगति गर्न सकिएन ।’ २०३८ कात्तिक २२ मा औद्योगिक क्षेत्रको स्थापना भएको हो । क्षेत्रभित्र अझै पनि विद्युतको डेडिकेट फिडर, पानीको ओभरहेड टंकी, कार्यालय र कर्मचारी आवास निर्माण, सडक कालोपत्रे, बारुण यन्त्र व्यवस्थापनलगायतको काम बाँकी छ ।

प्रकाशित : भाद्र १, २०७९ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×