दिवंगत व्यक्तिको नामबाट विद्यालय वा सामुदायिक अस्पतालको नामकरण गरे ५० लाख

कपिलवस्तु — वाणगंगा नगरपालिका ११, भड्सडवाकी दिवंगत लीला अर्यालको नाममा सामुदायिक विद्यालय वा अस्पतालको नामकरण गरे परिवारले ५० लाख रुपैयाँ नगद सहयोग दिने घोषणा गरेको छ ।

दिवंगत व्यक्तिको नामबाट विद्यालय वा सामुदायिक अस्पतालको नामकरण गरे ५० लाख

स्वर्गीय अर्यालको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनका पति महेन्द्र अर्यालले उक्त घोषणा गरेका हुन् । महिला अगुवा, अधिकारकर्मी र सामाजिक कार्यकर्ताका रूपमा लीला गाउँमा परिचित थिइन् ।

गाउँघरमा महिला तथा बालबालिकाका समस्या समाधन गर्न उनी सधैं अग्रसर हुन्थिन् । सामाजिक र विकासका काममा पनि उनी नेतृत्व दिँदै लाग्थिन् । ‘बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने भित्री चाहना थियो,’ महेन्द्रले भने, ‘त्यही भएर उनको सपना चीरस्थायी बनाउन शिक्षा क्षेत्रमा सहयोग गर्न खोजेका हौं ।’

कपिलवस्तुको संसदीय निर्वाचन क्षेत्र नं. १ भित्रका जुनसुकै विद्यालयले अवसर लिन सक्नेछन् । शिक्षा नियमावलीमा विद्यालयको नाम व्यक्तिको नाममा नामकरण गर्न परे ५० लाख दिनु पर्ने व्यवस्था राखिएको छ । त्यसैलाई टेकेर आमाको नाममा नामकरण गर्ने विद्यालयलाई उक्त रकम दिने योजना परिवारले गरेको छोरा डा. शिशिर अर्यालले बताए ।

आमाको नाम राख्ने विद्यालयलाई आफूहरुले स्थापना गरेको सिमली फाउन्डेसनबाट अन्य सामाजिक क्रियाकलाप पनि गरेर सहयोग गर्ने उनले बताए । पहिलो प्राथमिकतामा विद्यालय राखिएका छन् । विद्यालय नभेटिए सामुदायिक अस्पतालले समेत नामकरण गरेर सहयोग उपयोग गर्न सक्ने बताइएको छ ।

लीलाको ५४ वर्षको उमेरमा साउन ५ गते निमोनियाबाट मृत्यु भएको थियो । उनी क्यान्सरबाट समेत पीडित थिइन् । ०४६ देखि २०७० सम्म भड्सडवा बस्दै आएको अर्याल परिवार अहिले बुटवल उपमहानगरपालिका ११, ध्रुबनगरमा बस्दै आएको छ ।

प्रकाशित : भाद्र १, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?