१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाल्पामा बाघजात्राको रौनक

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेनमा बाघ जात्रामा रौनक देखिएको छ । नौ दिनसम्म निकालिने जात्राअन्तर्गत मंगलबार तानसेनमा बाघ जात्रा देखाइएको हो । लोप भएको संस्कृतिलाई बसपार्कका पुराना कलाकार किरण चित्रकारको अगुवाइमा संरक्षण थालिएको छ । पाल्पाली नाट्य समूहले बाघ जात्राको अवसरमा तानसेन बजारमा बाजागाजासहित बाघ जात्रा निकालेको थियो । 

पाल्पामा बाघजात्राको रौनक

परापूर्वकालदेखि मनाइँदै आएको बाघजात्रा पाल्पामा पछिल्ला वर्षमा हराइसकेको थियो । केही वर्षअघि देउराली अध्ययन सांस्कृतिक प्रतिष्ठानले जात्राको जगेर्नाको पहल गरेको थियो । आफ्नो ठाउँको संस्कृति बचाउनुपर्छ भन्ने उद्देश्यका साथ सहयोग गरेको हो । परापूर्वकालमा बस्ती कम र जनसंख्या पनि कम तथा जंगल घना भएकाले बाघले निकै सताउँथ्यो । त्यसपछि बाघजात्रा निकाल्ने चलन चलेको संस्कृतिविद् मदन देउरालीले बताए ।

मंगलबार नै यहाँको भीमसेनटोलस्थित भीमसेनको जात्रा पनि निकालिएको छ । तानसेनका नेवारी समुदायका मुनन्कर्मी, गंगोल र मल्ल समुदायले भीमसेन जात्राको सुरुवात गरेका हुन् । अन्य जात्रा भन्दा यो जात्रा फरक छ । किनभने भीमसेनको जात्रा शुद्ध नेवारी समुदायले मनाउने गर्छन् । मन्दिर स्थापना भएको २ सय वर्ष नाघेको छ भने १ सय १३ वर्षदेखि भीमसेन जात्रा निकालिँदै आएको छ । विशेष गरी नेवार समुदायमा व्यापार व्यवसायको श्रीवृद्धिका लागि भीमसेनको पूजा गर्ने प्रचलन छ ।

यसै गरी सोमबार यहाँ श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजासहित बजारमा सयौं श्रद्धालु, भजनकीर्तनसहित रथयात्रा निकालेको गुठियार हिमालदत्त श्रेष्ठले बताए । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य ढंगबाट निकालिएको जात्रा यस वर्ष भव्य भएको संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले जानकारी दिए ।

नेवार समुदायमा जनैपूर्णिमादेखि जात्राहरू सुरु भए पनि गणेशको रथ यात्रा निकालेपछि मात्र टक्सार, भीमसेन, भगवती, अमरनारायण लगायतका रथहरू निकाल्न बाटो खुला हुने संस्कृतिविद्हरूको भनाइ छ । यहाँ गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट सुरु गरिएको हो ।

प्रकाशित : भाद्र १, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?