३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बर्दिया निकुञ्जमा बुधबारदेखि जंगल सफारी खुला

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी बुधबारदेखि सञ्चालनमा आउने भएको छ । मौसमको अवस्था हेरेर जंगल सफारी खुला गरिए पनि वर्षा लगातार भइरहे बन्द गर्ने निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्जमा बुधबारदेखि जंगल सफारी खुला

पर्यटक र पर्यटन व्यवसायीको आग्रहलाई मध्यनजर राख्दै सफारी निश्चित तोकिएको राम्रो बाटोमा अवलोकन गर्न पाउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । तर पानी पर्नासाथ सफारी गर्न नपाउने बताइएको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘मौसमको अवस्था हेरेर सफारी खोलिएको हो । फेरि लगातार वर्षा भयो भने बन्द हुन्छ ।' यस वर्ष गणनामा बाघ बढेपछि पर्यटकको आकर्षण केन्द्र बर्दिया निकुञ्ज भएको पनि श्रेष्ठले बताए ।

यद्दपि यसअघि पनि बाघका कारण यहाँ पर्यटक आगमन बढ्दै गएको छ । गत वर्षमा १६ हजार २ सय ९७ पर्यटक निकुञ्ज भित्रिएका थिए । जस मध्ये नेपाली १३ हजार ७४, तेस्रो मुलुकका २ हजार ३ सय २२ र सार्कबाट ९ सय १ जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्यांकमा उल्लेख छ । विगतका तुलनामा सार्क मुलुकबाट आउने पर्यटकमा वृद्धि भएको छ ।

कोरोना महामारी सुरु भएयता बन्द गरिएको हात्ती सफारी भने अहिलेसम्म खुलाइएको छैन । पर्यटकहरु विशेषगरी अनुमतिप्राप्त जिपबाट सफारी गर्दै आएका छन् । पैदल अनुगमन गर्ने पर्यटक पथ प्रदर्शक(गाइड) को सहारामा निकुञ्ज अवलोकन गर्ने गरेका छन् ।

बर्दिया निकुञ्जमा पछिल्लो गणना अनुसार १ सय २५ वटा बाघ रहेका छन् । यसैगरी बर्दिया निकुञ्जमा सयभन्दा बढी हात्ती, ३७ वटा गैंडा लगायत थुप्रै चित्तल, निलगाई, बारसिंगे लगायतका वन्यजन्तु रहेको बताइन्छ । निकुञ्ज बाहिर आसपासका क्षेत्रमा ठूला, साना गरी दुई दर्जनभन्दा बढी पर्यटकीय होटल रहेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?