बर्दियामा हतियारसहित सिकारी पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

बर्दियामा हतियारसहित सिकारी पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले एक सिकारीलाई पक्राउ गरेको छ । पक्राउ सिकारीबाट दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउन्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल,  सुकुटी ४ सय ग्रामलगायत बरामद गरिएको छ । त्यस्तै मोटरसाइकल १, मोबाइल ३ थान छालासहित काँचो मासु ७ सय ग्राम पनि बरामद गरिएको छ ।

निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको सहायक संरक्षण अधिकृत संजय सञ्जेलले बताए । अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका नाम सार्वजनिक नगरिएको उनले जनाए ।

बारबर्दिया नगरपालिकास्थित मध्यवर्ती सामुदायिक वनमा चोरी सिकार गरेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिमा महिलाहरूको भूमिका असाधारण छ : केपी ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले महिलाहरूको राजनीति प्रशंसनीय रहेको बताएका छन् । पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको उनले बताए ।

तर महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने उनको भनाइ थियो । 'महिलाले राजनीति नगरे आधा समाजले राजनीति गर्दैन । आधा समाजले राजनीति नगरे आधा समाज पछाडि पर्छ । महिलाले जस्तो भूमिका खेलेका छन् त्यो असाधारण छ । उच्च प्रशंसा गर्न चाहन्छु ।'

पछिल्लो समय राजनीतिप्रति घृणा पैदा भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सुद्ध राजनीति गर्नुपर्ने बताएका थिए । राजनीति देश बनाउने कुरा भएकाले यसलाई घृणा गर्न नहुने उनको भनाइ थियो ।

'आइ हेट पोलिटिक्स भनिन्छ नि । देश बनाउने कुरालाई घृणा गर्नुहुन्छ भने केलाई माया गर्नुहुन्छ ? राजनीति भनेको देश बनाउने कुरा हो । राजनीति जनताका समस्या समाधान गर्ने र समृद्धि गर्ने कुरा हो । राजनीति जनताहरूको सुरक्षा गर्ने कुरा हो । त्यसैले राजनीति केका लागि गर्ने र कस्तो गर्ने भन्ने महत्त्वपूर्ण हो,' अध्यक्ष ओलीले भने ।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका थिए । यस क्रममा उनले गम्भीर राजनीति गर्नु पर्ने बताए ।

नेता ओलीले राजनीतिमा महिलाहरूको भूमिकाबारे प्रशंसा गरेका थिए । राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै उनले महिलाहरूको भूमिकाप्रति प्रशंसा गरेका थिए । साथै उनले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने र महिलाहरू राजनीतिमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×