कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

खुला कारागार प्रयोगविहीन

रूपा गहतराज

नेपालगन्ज — बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन छ । नेपालगन्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि निर्माण सम्पन्न भएको खुला कारागार भवन आवश्यक कार्यविधि नबन्दा प्रयोगमा आउन नसकेको हो ।

खुला कारागार प्रयोगविहीन

जिल्ला कारागार प्रमुख रामकुमार सोनकरका अनुसार कारागार सञ्चालन हुन नसक्दा भवन जीर्ण बन्दै गएको छ । ‘दुई तिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित सर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणा अनुसार गनापुरमा उक्त कारागार बनाइएको हो,’ सोनकरले भने, ‘खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा कैदी राख्न अन्योलमा छौं ।’

पौने २ करोड रुपैयाँ लगानीमा संरचना निर्माण भएको ठाउँमा खुला कारागारको ६ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको २ बिघा जमिन छ । उक्त जमिन त्यहाँ राखिने कैदीलाई खेतीपातीका लागि दिने नीति अघि सारिएको थियो । ‘राम्रो आचरण भएका कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीं बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो,’ सोनकरले भने ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । ३ सय ५० जना क्षमताको कारागारमा ७ सय ५० कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ । ‘कतै ठाउँ नभएर कोचिएर कैदीबन्दी बसिरहेका छन् भने कतै बनाएको भवनमा कैदी राख्न सकिएको छैन,’ अधिकारकर्मी वसन्त गौतमले भने, ‘अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राखिने भनिए पनि अहिले निर्माण भएका पूर्वाधार संरक्षणमै सम्बन्धित निकाय गम्भीर हुन सकेको छैन ।’ ११ वर्षदेखि रित्तो कारागार आफूले कुरेर बसेको कारागारका चौकीदार जगराम चौहानले बताए । ‘भूतबंगलाजस्तो कारागार कुरेर बसेको छु,’ उनले भने, ‘भवनको संरक्षण नहुँदा जीर्ण बनिरहेका छन् । कसैलाई वास्तै छैन ।’

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?