कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दुई दशकपछि खौराहामा गोही

कान्तिपुर संवाददाता

बर्दिया — दुई दशकपछि ठाकुरबाबा नगरपालिकास्थित हात्तीसारनजिक बग्दै गरेको कर्णाली नदीको भँगालो खौराहा खोलामा २८ वटा गोही फेला परेका छन् ।

दुई दशकपछि खौराहामा गोही

यसअघि प्रशस्त पाइने यस खोलामा पानी सुक्दै गएपछि गोही देखिन छाडेका थिए । गत वर्षदेखि यस खोलाको लालमटियामा थुनिएको पानी बग्न थालेपछि प्राकृतिक रूपमा गोहीले बच्चा जन्माउन थालेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए । लामो समयदेखि खौराहा र गेरुवाको ढुंगा, गिट्टी र बालुवा हटाएपछि पानी बग्न थालेको उनले जनाए ।

कर्णाली नदीको भँगालो गेरुवा नदीमा ठूलो संख्यामा देखिने सरिसृप गोही (घडियाल) पछिल्लो समय देखिन छाडेको थियो । कर्णाली नदीको भँगालो गेरुवामा जलको स्तर घट्दै जानु, वासस्थान संकटपूर्ण अवस्थामा रहनु र मानवीय समस्याका कारण गोही हराउँदै गएको बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीले बताए । अहिले पानी बग्दै गएपछि गोही देखिन थालेको हो । हाल बबईमा २९ वटा वयस्क र गोही प्रजनन केन्द्रबाट छाडिएका ५० वटा बच्चा रहेको निकुञ्जले जनाएको छ । कर्णाली नदीमा मात्रै ३ वयस्कसहित २८ वटा बच्चा छन् । सामान्यतः एक गोहीले वर्षमा ११ वटासम्म बच्चा जन्माउँछ ।

बबई नदीको प्राकृतिक वासस्थानमा गोही संरक्षणका लागि विभागको सहमतिमा चितवन राष्ट्रिय निकुञ्जको कसरा गोही प्रजनन केन्द्रबाट विभिन्न समयमा गोही ल्याएर छाड्ने गरिएको छ । विशेष गरी विश्व सीमसार दिवस र अन्य अवसर पारेर गोही छाडिने गरिएको छ । उचित वासस्थानका कारण बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने बबई नदीको बाँध परेवा ओडारमा गोहीको संख्या बढ्दै छ ।

सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घस्रने घडियाल अर्थात् गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको थियो ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?