३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राप्तीसोनारीले सुरु गर्‍यो स्थानीय पाठ्यक्रम

रुपा गहतराज

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय स्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको हो । राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको हो ।

‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेसा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषता'लाई उच्च प्राथमिकता राखिएको छ ।

‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए । 'पाठ्यक्रममा विशेषगरी गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेट्ने प्रयास गरेका छौं,’ अध्यक्ष पौडेलले भने,‘जनप्रतिनिधि निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई अहिले लागू गरिएको हो।’

विभिन्न सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताए । ‘अहिले पाठ्यक्रम मात्रै हो तर हामीले पाठ्यपुस्तकको पनि तयारी थालेका छौं’, शिक्षा शाखा प्रमुख न्यौपानेले भने, ‘कक्षा, ६, ७ र ८ को लागि पाठ्यपुस्तक बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने छन्।’

गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति निर्माण भएको थियो। सो समितिले ६ महिनाको अवधिमा पाठ्यक्रम तयार गरेको हो।

प्रकाशित : श्रावण ३०, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?