१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लुम्बिनीमा प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न कांग्रेसले प्रतिनिधि खटाउने

घनश्याम गौतम

रुपन्देही — नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले स्थानीय तहको निर्वाचन सकिएको तीन महिनापछि आइतबार समीक्षा गरेको छ ।

लुम्बिनीमा प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न कांग्रेसले प्रतिनिधि खटाउने

कांग्रेस लुम्बिनी प्रदेश समितिको आइतबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनको समीक्षासहित थप ५ विषयमा छलफल गरेको हो । बैठकले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन अनुसार अन्य दलबाट सहयोग नभएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले गठबन्धनको सहयोगमा लुम्बिनीका १ सय ९ स्थानीय तहमध्ये ४८ मा जितेको छ । एमालेले २७ र माओवादी केन्द्रले २५ स्थानीय तहमा प्रमुख जितेका छन् । केही स्थानमा कांग्रेस एक्लै चुनाव लडेको थियो ।

कांग्रेस सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सिट बाँडफाँटका क्रममा पार्टीको जनमत अनुसार उम्मेदवार छनोट गर्न नसक्दा केही स्थानीय तहमा समस्या देखिएको निष्कर्ष निकालिएको बताए । त्यसको गम्भीर समीक्षा गर्दै अब स्थानीय तहको मत भारका आधारमा गठबन्धनमा सिट बाँडफाँट गर्दा परिणाम सकारात्मक आउने गरी केन्द्रीय समितिलाई सुझाव पठाउने निर्णय पनि गरिएको उनले बताए । ‘स्थानीय तहको निर्वाचनमा एक हजार मत भएकालाई १० हजार मत अर्कोले दिनु पर्दा समस्या देखियो,’ उनले भने, ‘त्यसैले अब प्रदेश र प्रतिनिधिसभाका त्यस्ता गल्ती नहुने गरी गठबन्धनमा सिटको बाँडफाँट गर्न सुझाव दिने निर्णय भएको छ ।’

उनका अनुसार बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार छनोटका लागि लुम्बिनी प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ । त्यसरी खटिएका प्रतिनिधिले सबै निर्वाचन क्षेत्रमा पुगेर निर्वाचनको तयारी गर्ने, संगठन सुदृढीकरण अभियान चलाउने, भेला, छलफल गर्ने र सम्भावित उम्मेदवारको खोजी गर्नेसम्मको काम गर्ने जिम्मेवार पाउने उनले बताए । ‘खटिने प्रतिनिधिको छनोट प्रदेश समितिले नै गर्नेछ,’ उनले भने, ‘त्यसको तयारी पनि तत्काल गर्दै छौं ।’

कांग्रेसका लुम्बिनी प्रदेश सदस्य मोती भण्डारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्ने क्रममा प्रदेश समितिको संसदीय बोर्डबाट भएको निर्णयमा पनि समिक्षा गर्दै भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने निर्णय गरेको बताए । बैठकले लुम्बिनी सरकारको काम कारबाहीको विषयमा पनि समीक्षा गरेको छ । सरकारका काम प्रभावकारी नभएको बजेट निर्माणदेखि नियुक्तिमा कांग्रेसको सहभागिता नै नदेखिएको, बजेट निर्माणमा माओवादीले आफूखुसी गरेको लगायतका कमजोरी बैठकमा औंल्याइएको थियो ।

बैठकले लुम्बिनी प्रदेशमा ३२ विभाग गठन गर्ने निर्णय पनि गरेको छ । गठन हुने विभाग पार्टीको विधानभन्दा फरक हुने भएकाले त्यसको कार्यविधि तयार गरेर त्यसकै आधारमा गठन गर्ने पनि निर्णय भएको भण्डारीले बताए । कांग्रेसले स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने पनि निर्णय गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?