२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सोलारबाट १५ किलोवाट बिजुली

माधव अर्याल

पाल्पा — तानसेन खानेपानी उपभोक्ता समितिले बिजुलीको बिलमात्रै मासिक १० लाख रुपैयाँ तिर्दै आएको छ । वार्षिक १ करोड २० लाख बढी विद्युत् महसुल तिर्नुपर्ने अवस्था छ । यसलाई केही भए पनि कम गर्न भुल्के खानेपानी पम्पिङ स्टेसनको ४ नम्बर पम्पमा सोलारबाट १५ किलोवाट विद्युत् निकालिएको छ ।

सोलारबाट १५ किलोवाट बिजुली

‘विद्युत् महसुलका कारण पनि तानसेनको खानेपानी धेरै महँगो भएको छ,’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले भने, ‘त्यसैले विद्युत् महसुलमा कमी ल्याउन सोलार प्यानल जडान गरेर विद्युत् निकालिएको हो ।’

अन्यत्रको लिफ्टिङभन्दा तानसेनको फरक छ । अन्यत्र एक वा दुई लिफ्ट गर्दा पानी मुख्य टंकीमा पुग्छ । यहाँ भने चार लिफ्ट गरेपछि बल्ल वितरण गर्ने टंकीसम्म पुग्छ । मन्त्री रानाका अनुसार अघिल्लो आर्थिक वर्षको बजेटबाट नमुना परीक्षण गरिएको हो । ‘अब अहिले सफल भएकाले चालु आर्थिक वर्षका लागि १ सय ९ किलोवाटको अध्ययन सकिएको छ,’ उनले भने, ‘बतासेडाँडा क्षेत्रमा सोलार प्यानल राखेर विद्युत् निकालिनेछ ।’ सोलार प्यानल जडान गर्न लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको १५ लाख सहयोगका साथै यूकेएड र नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोग रहेको छ ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावास, लुम्बिनी प्रदेश सरकारबीचको सहमतिमा चालु आर्थिक वर्षमा समेत सोलार प्यानल राख्ने योजना अघि बढेको मन्त्री रानाले बताए । ‘हाम्रो प्रमुख उद्देश्य भनेको वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् महसुल घटाउने नै हो,’ उनले भने, ‘यसका लागि चालु आर्थिक वर्षमा पनि काम गर्न अध्ययन गरेका छौं ।’ राजनीतिक दल, नागरिक समाज, तानसेन खानेपानी समिति, लुम्बिनी प्रदेश सरकारबीच भएको छलफलपछि तानसेनमा खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने, बिलिङ घटाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । मन्त्रालयका इन्जिनियर झलकबहादुर थापाले भुल्के मूलकै पहिलो, दोस्रो र तेस्रो स्टेसनमा सोलार प्यानल राख्न सक्ने अवस्था नभएको बताए । ‘त्यसका लागि वैकल्पिक ढंगले काम गर्ने अध्ययन भएको छ,’ उनले भने, ‘बतासेडाँडा क्षेत्रमा सोलार प्यानल राखेर विद्युत् लाइनसँग जडान गरेर पनि विद्युत् महसुलमा कमी ल्याउन सकिन्छ भन्ने देखिएको छ ।’ मन्त्रालयले तानसेन नगरपालिका र बतासेडाँडा क्याम्पसमा समेत नमुनाको रुपमा सोलार प्यानल राखेको छ । नगरपालिका र क्याम्पसको विद्युत् महसुल कमी गराउन सोलारले सहयोग पुग्नेछ ।

तानसेनमा भुल्के, बाँझा, कुरुङखोला, कालीगण्डकी, तीनधारा, होलाङ्दी, सिस्नेलगायतका स्थानबाट लिफ्ट गरेर खानेपानी वितरण गरिएको छ । खानेपानी उपभोक्ता समितिका अनुसार २५ लाख लिटर दैनिक पानीको माग भए पनि १२ लाख लिटरमात्र आपूर्ति भइरहेको छ । लिफ्टिङ गर्ने मोटर बिग्रने समस्याले गर्दा तानसेन बजार क्षेत्रमा ७ दिनमा एकपटक एक घण्टा पिउने पानी वितरण हुँदै आएको छ । भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी, खानीगाउँ क्षेत्रमा समेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?