कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० मा सेनिटरी प्याड खरिद गरेको पाइएको छ ।

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका छन्, जसले गर्दा पालिकाले लिएको लक्षित उद्देश्य पूरा नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नेपालगन्जका सामुदायिक विद्यालयका छात्राले सेनिटरी प्याड प्रयोग गर्न नपाएको र असार ३० मा खरिद गरिएपछि २० लाख ६ हजार १४ रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

उपमहानरले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ । तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन । त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ । तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन । महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी कार्यक्रमको कार्यान्वयनको प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन ।

सामुदायिक विद्यालयलाई शैक्षिक सत्र सुरु भएपछि सेनिटरी प्याड उपलब्ध नराई आर्थिक वर्षको अन्तिममा उपमहानगरले खरिद गर्दा उपलब्धि नदेखिएको हो । नेपालगन्ज उपमहानगरका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले सामुदायिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड शिक्षा शाखाबाट खरिद गरिएको बताए ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?