'विदेशबाट फर्किएकालाई लक्षित नि:शुल्क सिप सिकाइ प्रभावकारी'

अमृता अनमोल

बुटवल — कोभिड महामारीका कारण विदेशबाट फर्किएका युवालाई लक्षित गरी लुम्बिनी र मधेसमा सञ्चालित नि:शुल्क सिप सिकाई प्रभावकारी भएको जनाइएको छ । बुटवलमा शनिबार आयोजित समीक्षा कार्यक्रममा तालिममा सहभागी युवाहरुले तालिम प्रभावकारी भएको र व्यवसाय अपनाउन सहज भएको बताएका हुन् ।

'विदेशबाट फर्किएकालाई लक्षित नि:शुल्क सिप सिकाइ प्रभावकारी'

पशुपालनको सिप सिकेका युवा श्रीराम बन्जाडेले पेसागत सिपले स्वरोजगार बन्न सघाएको बताए । ‘१८ वर्षसम्म विदेशमा लेवरको काम गरें । कोभिडले फर्केपछि पशुपालनको सिप सिकें । सिपले ज्ञानमात्र बढाएर मुनाफा कमाउनेगरी स्वरोजगार बन्न पनि सघायो,’ उनले भने । अघिल्लो माघ १९ देखि सुरु सिपमूलक तालिमहरु आउँदो पुस १३ गतेसम्म संचालन हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास आयोजनाले नि:शुल्क रोजगारमूलक सिप तथा क्षमता कार्यक्रम थालेका हुन् । लुम्बिनी प्रदेशका रुपन्देही दाङ, बाँके र बर्दिया गरी तीन जिल्ला र मधेस प्रदेशका ४ जिल्लामा एक महिने सिपमूलक तालिम सञ्चालन गरिएको छ ।लुम्बिनीमा ८ वटा सेवाप्रदायक संस्थामार्फत ६ सय ६० जनालाई सिपमूलक तालिम दिने लक्ष्य छ । अहिलेसम्म करिब २ सय जनाले तालिम लिएका छन् । तिनमा निर्माण, कृषि र पर्यटन क्षेत्रमा काम गर्ने गरी रोजगारमूलक तालिम छन् । कृषितर्फ खेतीपाती र पशुपालनलाई समेटिएको छ । निर्माणमा प्लम्बिङ, विद्युत् वायरिङ, टायल एण्ड मार्वल फिटिङ, वेल्डि लगायत छन् । पर्यटनतर्फ नेपाली, चाइनिज खाना पकाउने, कफी बनाउने, वेटरलगायत तालिम दिइएको छ । तालिम सकिनासाथ राष्ट्रिय सिप परीक्षण समितिबाट नि:शुल्क सिप परीक्षणको व्यवस्था गरेको छ । तालिम सिकेकालाई नि:शुल्क औजार तथा व्यवसाय गर्न सामग्री दिने गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशक मिष्टरकान्त मैनालीले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव हरि लम्सालले व्यवहारिक र आवश्यकतामूलक शिक्षाले मात्रै रोजगारी दिने भएकाले त्यसअनुसार कार्यक्रम बनाएको बताए । सीटीईभीटीका निर्देशक मैनालीले व्यवहारिक र सिपमूलक शिक्षा अहिलेको आवश्यकता भन्दै शिक्षालाई सिपमा र सिपलाई व्यवसायमा परिणत गर्नेगरी कार्यक्रम संचालन गरेको बताए ।

उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजूले रोजगारी छोडेर आएकालाई पुन: रोजगारीमा जोड्न सिपमात्र होइन, बिक्ने र टिक्ने खालको पेसा अपनाउन व्यवसायीसँगको अन्तरघुलन पनि आवश्यक रहेको बताए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोभिडका कारण ५ लाख ७२ हजार ५ सय ७१ जनाले वैदेशिक रोजगारी छोडेर नेपाल फर्केका छन् ।


प्रकाशित : श्रावण २८, २०७९ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?