कांग्रेस कार्यकर्ताले तोडफोड गरेको पार्क गृहमन्त्रीद्वारा उद्घाटन

अमृता अनमोल

बुटवल — शवदाह गृह बनाउनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताले तोडफोड गरेको पार्कको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

कांग्रेस कार्यकर्ताले तोडफोड गरेको पार्क गृहमन्त्रीद्वारा उद्घाटन

शुद्धोधन गाउँपालिका–५ मानपकडीमा निर्माण भएको ‘शुद्धोधन पार्क’को गृहमन्त्री खाँणले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासका काममा राजनीति गर्न नहुने बताए ।

लुम्बिनी प्रदेश सरकार र शुद्धोधन गाउँपालिकाको लगानीमा पार्क निर्माण सुरु गर्दा अघिल्लो वर्ष कांग्रेस नेता कार्यकर्ताहरुले पार्कका संरचना भत्काइदिएका थिए । तोडफोडबाट दर्बाहा बगैंचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल भत्किएका थिए । उनीहरुले गाउँपालिकामा तालाबन्दीसमेत गरेका थिए ।

दर्बाह मन्दिर र सोको वरपरको खाली जमिन समेटेर दर्बाह पार्क बनाइएको छ । शुद्धोधन गाउँपालिकाको पहिलो गाउँसभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा पार्क बनाउन सुरु गरेको थियो ।

२०७४/०७५ मा सुरु भएको गुरुयोजनामा ०७५/०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदी तटबन्ध गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको समानिकरण बजेटबाट ५० लाखसहित १ करोड ३० लाखको लागतमा पार्क निर्माण गरिएको थियो ।

पार्क निर्माण रोक्नका लागि स्थानीय वीरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरीसहित नेपाली कांग्रेस सुद्धोधन गाउँपालिका सभापति शेरबहादुर कार्की , विपिन कुर्मी लगायतले नेतृत्व गरेका थिए । लुम्बिनी प्रदेश सांसद तुलसीप्रसाद चौधरीले विकास योजना कसले ल्याएको भनेर विरोध गर्नु साटो त्यसले के फाइदा हुन्छ भनेर अगाडि बढ्नुपर्ने बताए ।

‘त्यसबेला पार्क चाहिँदैन भनेर भत्काउने र ताला लगाउनेहरु नै सहमत भएर पार्क उदघाटन कार्यक्रम गर्नुभयो । यसले योजना राम्रो रहेछ भन्ने पुष्टि गरेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?