कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी प्याड खरिद गरेको पाइएको छ । वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका हुन् ।

जसले गर्दा पालिकाले लिएको लक्षित उद्देश्य पूरा नभएको महालेखा परीक्षणले जनाएको छ । महिनावारीका समयमा नेपालगन्ज उपमहानगरका सामुदायिक विद्यालयका छात्राहरूले सेनिटरी प्याड प्रयोग गर्न नपाएको भन्दै असार ३० गते खरिद गरिएपछि महालेखा परीक्षकको कार्यालयले २० लाख ६ हजार १४ रुपैयाँ बेरुजु देखाएको छ ।

उपमहानरपालिकाले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार १ सय ४३ रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ । तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन । त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ । तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन । महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी कार्यक्रमको कार्यान्वयनको प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन । सामुदायिक विद्यालयलाई शैक्षिक सत्र सुरु भएपछि सेनिटरी प्याड उपलब्ध नराई आर्थिक वर्षको अन्तिममा उपमहानगरपालिकाले खरिद गर्दा उपलब्धि नदेखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले सामुदायिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड शिक्षा शाखाबाट खरिद गरिएको बताए ।

प्रकाशित : श्रावण २८, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?