एकै गाउँबाट ३ करोडको खुर्सानी

झडेवाका ३ सय बढी किसानले मौसमी खुर्सानी लगाएर दैनिक १० हजार केजीसम्म बिक्री गर्दै
माधव अर्याल

पाल्पा — माथागढी गाउँपालिका–४, झडेवाकी खुमा गाहाले दुई महिनामा ३ लाख ६० हजार बढी कमाइन् । बारीको खुर्सानीबाट अझै ६० हजार थपिने पक्का छ । दुई महिनाअघि लगाएको खुर्सानीबाट अहिले दैनिक नगद हात पर्ने गरेको छ । गाउँमै संकलन गरेर बटुवल, पोखरा, तानसेन बिक्रीका लागि लैजाने गर्छन् । 

एकै गाउँबाट ३ करोडको खुर्सानी

‘हामीले दुःख गरे अनुसारको मूल्य नपाए पनि बिक्री गरेर हातमा पैसा पर्दा भने निकै खुसी लाग्छ,’ उनले भनिन्, ‘दिनभरि खुर्सानी टिप्ने र बेलुकी बाँसटारी–झडेवा सडक छेउसम्म लैजाने गरिन्छ ।’

झडेवाकै पूर्णबहादुर सिँजालीले पनि खुर्सानीबाट ५ लाख २० हजार रुपैया कमाइ गरेका छन् । उनको घर–परिवार खुर्सानी बिक्रीबाटै गुजारा चलेको छ । विपन्न र पिछडिएको बस्तीका लागि खुर्सानी खेती आम्दानीको बलियो स्रोत बनेको सिँजालीको अनुभव छ । ‘गाउँका सबै बस्तीमा खुर्सानी खेती गर्दा आम्दानी पनि गाउँमै भित्रिएको छ,’ उनले भने, ‘यसबाट घरखर्च चल्ने मात्र होइन, छोराछोरी पढाउन पनि सहयोग पुगेको छ ।’

गाउँमा कृषक समूह गठन गर्ने, किसानलाई काम गर्न हौसला भएपछि खुर्सानी लगाउने बढेका हुन् । गाहा र सिँजाली मात्र होइन, यहाँका ३ सय बढी किसानले मौसमी खुर्सानी लगाएका छन् । ‘बेमौसमी खुर्सानी लगाउन पानी नै पुग्दैन,’ सिँजालीले भने, ‘गाउँमा खानका लागि त पानी अभाव छ, तरकारी खेती गर्ने कसरी ?’ पछिल्लो तीन वर्षयता झडेवाका टोलटोलमा मौसमी खुर्सानी खेती सुरु भएको छ ।

यहाँका किसानले वर्षायाममा फल्ने मौसमी खुर्सानी लगाएर वार्षिक ३ करोड बढी आम्दानी गर्दै आएका छन् । झडेवाको डन्डेरी, खापुक, गोव्रेसी, मकले, केरौली, देवगिर टोलमा खुर्सानी लगाउने किसान बढी छन् । झडेवाकै सौरेनी, घोर्गोटा, ताल्तुङ, गाट्डाँडा, टेकनडाँडा, गोफदी, फचेबास, चित्रेछाप टोलमा पनि खुर्सानी लगाउन थालेका छन् । टोलटोलमा कृषि समूह गठन गरेका छन् । तरकारी खेती गर्ने कम छन् । तर, वर्षायाममा फल्ने खुर्सानी अधिकांशले लगाएका छन् ।

स्थानीय अगुवा किसान थर्कबहादुर सिँजालीका अनुसार यस गाउँमा वर्षायाममा गरिने खुर्सानी खेतीबाट प्रतिपरिवार एकदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ । ‘केही वर्षयता झडेवा गाउँका विभिन्न टोलमा वर्षे खुर्सानी खेती हुने गरेको छ,’ उनले भने, ‘गाउँमा अन्य खेतीबाट आम्दानी लिन सकेका छैनन् । त्यसैले खुर्सानी लगाइएको हो ।’ उनका अनुसार मकै खेती लगाउँदा बाँदरलगायत जंगली जनावरबाट जोगाउन मुस्किल पर्छ ।

माथागढी गाउँपालिकाको बीउबिजन सहयोग उनीहरूका लागि लाभदायक भएको छ । कानुङ लाङघाली कृषि समूहका अध्यक्ष सिँजालीले डाँडाको बस्ती र पानी अभाव हुने भए पनि वर्षायाममा ३ सय बढी किसान खुर्सानी खेतीमा संलग्न हुँदै आएका छन् । ‘खुर्सानीबाट आम्दानी हुन्छ भन्ने किसानले बुझेका छन्,’ उनले भने, ‘तर, मौसममा सबैले यही खेती गर्ने भएकाले भाउ पाउन भने मुस्किल पर्छ ।’

अघिल्लो वर्ष थोक मूल्यमा प्रतिकिलो ९० रुपैयाँ भाउ पाएका थिए भने यस वर्ष ३३ रुपैयाँ किलोमा बिक्री गर्नु परेको छ । दैनिक थोक मूल्य बजारमा फरक पर्छ । धेरै लगाउनेहरू यस वर्ष मर्कामा परेका छन् । दिनभर टिप्न समय खर्चिनुपर्छ । बेलुकी बजारका लागि सडकसम्म लग्नुपर्छ । ‘हामीले लगानी गरे अनुसारको प्रतिफल नपाए पनि केही नाफामा चित्त बुझाउनुपरेको छ,’ उनले भने, ‘आगामी दिनमा गाउँपालिका, वडाबाट पनि बजारीकरणका लागि सहजीकरण गरिदिनुपर्छ ।’

किसानले अघिल्लो वर्ष भाउ पाएका थिए । यस वर्ष पाउन सकेनन् । यस वर्ष प्रतिकिलो ५५ रुपैयाँभन्दा बढी नपाएकाले किसान चिन्तित छन् । ‘वर्षा कम हुँदा भारत र तराईका खुर्सानीसँग प्रतिस्पर्धा गर्नुपरेको हो,’ अगुवा किसान चन्द्रबहादुर बरालले भने, ‘तराई र भारतमा डुबान हुँदा हामीले भाउ पाउने गर्छौं ।

नत्र भने प्रतिस्पर्धा गर्दा हाम्रो खुर्सानीको भाउ नै हुँदैन ।’ माथागढी गाउँपालिकाले तीन वर्षदेखि खुर्सानी पकेट क्षेत्र घोषणा गरेर किसानलाई यसको खेतीमा प्रोत्साहन गरेको हो । गाउँमा समूह गठन गर्ने, तालिम सञ्चालन गर्ने, तरकारी खेतीमा हौस्याउने गर्दै आएको वडाध्यक्ष शंकर दर्लामीले बताए । ‘अघिल्ला वर्षदेखि नै गठन भएका समूहलाई हामीले सामान्य सहयोग गरेका छौं,’ उनले भने, ‘खुर्सानीको पकेट क्षेत्र बनाउन कस्सिएकालाई सहयोग निरन्तर रहन्छ ।’

यहाँ मकै खेती गर्नेहरू अहिले खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । खेतमा मकै र धान लगाउने तर बारीमा भने खुर्सानी नै लगाउने गर्छन् । खुर्सानी टिपेपछि तोरी छर्ने गरेका हुन् । मकै खेतीभन्दा पाँच गुणा फाइदा हुने किसानको बुझाइ छ । ‘मकै खेती लगाएर के गर्नु, जंगली जनावरबाट जोगाउनै मुस्किल छ,’ वडाध्यक्ष दर्लामीले भने, ‘खुर्सानीलाई अहिलेसम्म कुनै समस्या देखिएको छैन ।’ रोगव्याधि लाग्दा पनि गाउँपालिकाबाट कृषि प्राविधिक पठाउने गरिएको उनले बताए । खुर्सानी खेती विपन्न परिवारका लागि आम्दानीको बलियो स्रोत बनेको उनले बताए ।

खुर्सानी लगाउनेहरू हरेक वर्ष बढेका छन् । तर, भाउ हरेक वर्ष घट्दो छ । ‘देवगिरदेखि झडेवा फाँटको माथिल्लो भेगसम्म खुर्सानी बिक्री गर्नेको मेला नै लाग्छ,’ गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले भने, ‘दैनिक १० हजार केजीसम्म संकलन हुने गरेको तथ्यांक पाइएको छ ।’

थोक बिक्रेताले गाउँमै खरिद गर्ने भएकाले किसानले सडकसम्म बोकाएर ल्याउने गरेको उनले बताए । खुर्सानीको उत्पादन बढे पनि मूल्य घटेपछि किसान चिन्तित भएको उनले सुनाए । ‘गत वर्ष कम्तीमा ६० रुपैयाँ थोक मूल्य पाएका थिए,’ उनले भने, ‘यस वर्ष भने भाउ धेरै घटेको रहेछ । जसले गर्दा किसान चिन्तित छन् ।’

प्रकाशित : श्रावण २८, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?