चुइँकी र गाईजात्रामा रौनक कम

कान्तिपुर संवाददाता

पाल्पा — यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउँदा रौनक कम देखिएको छ । जनैपूर्णिमाको दिनमा चुइँकी फिराइ निकाल्ने चलन थियो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका लागि निम्तो दिन चुइँकी निकाल्ने चलन चलेको हो । 

चुइँकी र गाईजात्रामा रौनक कम

थोत्रा टिन ठटाएर विभिन्न प्रहसन गर्दै गाईजात्राको निम्तो दिइन्थ्यो । ‘यस वर्ष एकै दिनमा दुई जात्रा परेपछि चुइँकी निकालियो,’ पाल्पाली नाट्य समूहका किरण चित्रकारले भने, ‘दुवै जात्रा एकै दिनमा पर्दा जात्राकै रौनकमा कमी आएजस्तो भयो ।’ बजार क्षेत्रमा सर्वसाधारणको उपस्थिति पनि कम भयो । जनैपूर्णिमा पर्व मनाउन सदरमुकामबाट धेरै बाहिरिए । त्यसैले गाईजात्रा हेर्नेहरूको पनि कमी भयो । जात्रा निकाल्नेको संख्यामा पनि कमी आयो । रामायण, बासा, तायमचा पनि बजार क्षेत्रमा कमै निकाले । कलाकार चित्रकारका अनुसार तानसेन बजारमा जात्राको रौनक खासै आउन सकेन ।

तानसेनमा जात्रा सुरु भएपछि बजार, चोक, पसलमा भीड बढ्थ्यो । तर, यस वर्ष बजार क्षेत्र सुनसानजस्तै भएको छ । ‘बजारमा जति रौनक हुनुपर्ने हो, त्यो भएकै छैन,’ व्यापारी रमेश थापाले भने, ‘जात्राको मौसम सुरु भएर के गर्नु ?, बजार क्षेत्रमा चहलपहल नै छैन ।’ मध्याह्नमा तानसेन बसपार्क, टुँडिखेल, पाल्पा दरबार, शीतलपाटी, विशाल बजारमा चित्रकारको पाल्पाली नाट्य समूहले चुइँकी फिराइ निकाल्यो । बसपार्ककै राजकुमार रञ्जनको समूहले पनि सांस्कृतिक प्रहसनसँगै चुइँकी फिराइ निकालेको छ ।

व्यङयात्मक प्रस्तुति, काम्ले गाई, बासा, रामायणको रौनक भने तानसेन बजारमा विगतको जस्तो देखिएन । गाउँमा भने शुक्रबार दिउँसो अबेर तायमचा निकालेका छन् । कसेनी सराइका रेखीराम रानाका अनुसार नेवारी पोसाकसहित तायमचा निकालिएको छ । तानसेन बजार क्षेत्रमा कतिपयले दिवंगतको सम्झनामा सामान्य जात्रा निकाले । ‘अघिल्ला वर्षमा जस्तो रौनक देख्नै पाइएको छैन,’ स्थानीय व्यापारी प्रेम कार्कीले भने । पहिले जस्तो बासा, रामायण, तायमचना, गाईजात्रा पनि यस वर्ष नदेखिएको संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले बताए । उनका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै जात्रा मनाइने सांस्कृतिक सहर तानसेनमा नौदिने जात्रा जनै पूर्णिमाबाट सुरु हुने हो ।

तानसेनमा जनैपूर्णिमाको दिन चुइँकी फिराइ निकालेसँगै नेपाल–अंग्रेज युद्धको सम्झनामा कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालेर जात्रा सकिने चलन रहेको उनले बताए । भैरवस्थान, तानसेन, जब्गादी, रामपुर लगायतका स्थानमा लाखेसँगै गाईजात्रा मनाउँदा छुट्टै रौनक हुने संस्कृतिका जानकार नारायण कुँवरले बताए । जात्राको पहिलो दिन चुइँकी फिराइ निकाल्दा ढ्याङढुङ र झ्याली पिट्न सुरु भएसँगै रौनक पनि बढ्ने पाल्पाली नाट्य समूहका विजय बम्डेलले बताए ।

‘यस वर्ष बजार क्षेत्रमा जात्रालु पनि कम देखिए,’ उनले भने, ‘जनैपूर्णिमाको अघिल्लो दिन लाखे निकाल्दा पनि खासै भीडभाड भएन ।’ यहाँको नेवारी समुदायमा मल्ल, सेन र राणाका पालामा काठमाडौंबाट जात्रा भित्रिएको इतिहासविद् मदन देउरालीले बताए ।

प्रकाशित : श्रावण २८, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?