रुपन्देही कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला- लुम्बिनी - कान्तिपुर समाचार

रुपन्देही कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भैरहवामा शुक्रबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

रुपन्देहीलाई १२ वर्षमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री ईन्द्रजीत थारुले जनता, स्थानीय, प्रदेश र संघीय सरकारको एकीकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको बताए ।

रुपन्देहीको कुल जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ रहेकोमा १२ वर्षभन्दा माथिको उमेर समूहका ८ लाख ३५ हजार ७ सय ९० जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले लक्ष्यभन्दा बढी अर्थात् ८ लाख ५३ हजार ७८ जनालाई कोभिड विरुद्धको दुई डोज खोप लगाएको जानकारी दिए । जिल्लामा कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो र दोस्रो मात्राको प्रगति देवदह, बुटवल, सैनामैना, कञ्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सतप्रतिशतभन्दा बढी भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशतभन्दा केही कम देखिएको ढकालले बताए ।

जिल्लालाई पूर्ण खोप घोषणा गर्नुअघि सबै पालिकामा तथ्यांक संकलन गरी १२ वर्ष उमेर समूह माथिका खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएको उनको भनाइ छ । समग्रमा जिल्लाको प्रगति १ सय २ प्रतिशत रहेको पाइएको भन्दै ढकालले खोज र खोप अभियानपछि ६२ हजार ५ सय जनाले पूर्ण खोप लगाएको जनाए ।

प्रकाशित : श्रावण २७, २०७९ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको न्यूयोर्कमा विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार भएको छ । न्यूयोर्क प्रहरीका अनुसार एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए । 

रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।

आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।

साथै रुस्दीको स्वास्थ्य अवस्थाबारे तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ । भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति 'मिडनाइट चिल्ड्रेन'बाट विश्वप्रसिद्ध भएका थिए । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

सन् १९८८ मा लेखेको 'द सटानिक भर्सेस'का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।


प्रकाशित : श्रावण २७, २०७९ २२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×