कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पाल्पामा भासियो राजमार्ग

सडकको कुनातर्फ डेढ मिटर मात्र बाँकी, हिउँदमा मर्मत हुन्छ : सडक डिभिजन
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत चौबीसमाइल, झुम्सा र भूतखोलामा अघिल्लो वर्ष भासिएको सडक मर्मत नहुँदै पुनः हिउँदेखोलानजिक यस वर्ष भासिएको छ । केही दिनदेखि तिनाउ गाउँपालिका–५ हिउँदेखोलानजिक ५० मिटर सडक भासिएको हो । भासिएको सडकमा गेग्रानले पुरेर सवारी सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ । एक सातायता राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग नै जोखिममा पर्ने गरी चिरा परेको छ ।

पाल्पामा भासियो राजमार्ग

सडकको कुनातर्फ डेढ मिटर मात्र बाँकी रहेर भासिएको सडक डिभिजन कार्यालयका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । उनका अनुसार भासिएको सडकमा गेग्रान माटो भरेर सवारी सञ्चालन गरिएको छ । पानी पर्ने क्रम नरोकिए थप सडक भासिएर आवागमन नै बन्द हुने अवस्था आउन सक्ने उनले बताए । ‘भासिएको केही समय सवारी साधन रोकिए पनि पुनः पुरेर सञ्चालन गरिएको छ,’ उनले भने, ‘अधिक वर्षा भयो भने जोखिम कायमै छ ।’

निरन्तर पानी परेमा पुनः सडक भासिन सक्ने भएकाले राजमार्गमा यात्रा गर्दा सूचना लिएर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ । हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी संचालनमा छ । पछिल्लो समयमा अत्यधिक भार बोकेका सवारी साधन संचालन हुने गर्छन् । यस क्षेत्रमा सात वर्षअघि पनि सडक भासिएको थियो । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकअन्तर्गत विभिन्न स्थानमा भासिने र पहिरो खस्ने समस्याले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बस चालक केशव कुँवरले बताए । वर्षायाममा तानसेनदेखि बुटवलसम्मको यात्रा जहिलेसुकै जोखिमपूर्ण हुने उनको अनुभव छ । यसका लागि सडक डिभिजनले भने सडक सुरक्षामा ध्यान नदिएको चालक कुँवरको गुनासो छ । सडक डिभिजनले भने यस विषयलाई गम्भीरतापूर्वक लिएर काम अघि बढाउने जनाएको छ । ‘हामीले भासिएका स्थानका लागि स्टिमेट गर्ने र हिउँद लागेपछि मात्र मर्मतको काम गर्नेछौं,’ सडक डिभिजनका सूचना अधिकारी लम्सालले भने, ‘यसका लागि विभागमा कुरा भइसकेको छ ।’

राजमार्गको पाल्पा खण्डअन्तर्गत गौडेपुलदेखि चिडियाखोलासम्मका विभिन्न स्थानमा तल्लो भागबाट राजमार्ग भासिन सुरु भएको पाँच वर्ष बढी भइसकेको गुल्मीका जीप चालक कृष्णप्रसाद कँडेलले बताए । ‘राजमार्ग भन्नु मात्र हो जतासुकै जोखिम छ,’ उनले भने, ‘यसका लागि सडक डिभिजनको ध्यान पुग्नुपर्छ ।’ पहाडी हुँदै हिमाली जिल्ला जोड्न सिद्धार्थ राजमार्ग छोटो दूरी पर्छ । सुनौलीबाट पाल्पा, पोखरा हुँदै मुस्ताङसम्मका सवारी साधन यही राजमार्ग भएर गुड्ने गर्छन् । राजमार्गको पाल्पा खण्डको पीपलडाँडा, सिद्धबाबा क्षेत्रको हेडबक्स, पैठेडाँडा, झुम्सा क्षेत्रका भूतखोला, लामेदमार, पानीमिल, सिसुवा, हिउँदेखोला, गिट्टीखानी, २४ माइल, कालीमाटी, गौडेपुललगायत क्षेत्रमा यसअघि नै सडक भासिएको छ । यहाँ २० किलोमिटर क्षेत्र बढी जोखिम छ ।

अघिल्लो वर्षदेखि झुम्सा र पानीमिलको बीच भागमा भासिन सुरु गरेको थियो । अघिल्लो हिउँदमा पहिरोसमेत पन्छाइएन । भासिएका सडककै कारण दैनिकजसो सवारी साधन जाम हुन्छ । कतिपय स्थानमा सडक एकतर्फी छ । मोटरसाइकल चालक केशव जीसीका अनुसार रोकथाम र डाइभर्सनसमेत नबनाएर समस्या थपिएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?