२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वैकल्पिक सडक निर्माणमा बेवास्ता

कान्तिपुर संवाददाता

बुटवल — लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि सिद्धबाबाको साटो वैकल्पिक सडक सुरु गरे पनि निर्माणलाई तीव्रता दिन सकेको छैन । बुटवलको धागो कारखाना, चरंगे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म करिब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, निर्माण अझै सकिएको छैन ।

प्रदेश सरकारले सिद्धबाबा सडक खण्डको वैकल्पिक मार्ग निर्माण थालेको हो । ७ किलोमिटर सडकको पहिरो छल्न विकल्पमा बनाइएको सडकको पहिलो वर्षमै ट्र्याक खोल्ने र दोस्रो वर्षदेखि ग्राभेल गरेर गाडी गुडाउने योजना थियो । तर, रूपन्देही क्षेत्रमा १३ र पाल्पामा साढे ८ गरी साढे २१ किलोमिटर लम्बाइको सडकको अहिलेसम्म प्रारम्भिक चरणको कामसमेत पूरा हुन सकेको छैन । प्रारम्भिक चरणको काममा ७० प्रतिशत भौतिक प्रगति भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले बताए ।

वैकल्पिक मार्गका लागि प्रदेश सरकारले सुरुको वर्ष अर्थात् आर्थिक वर्ष ०७४/०७५ मा १० करोड बजेट विनियोजन गरेको थियो । यसपछिका हरेक वर्ष बजेट विनियोजन भएको छ । साढे २१ किलोमिटर लम्बाइ र ७ मिटर चौडाइको २ लेनको वैकल्पिक मार्गमा अहिलेसम्म ३८ करोड ७१ लाख रुपैयाँ खर्च भइसकेको छ । रूपन्देही खण्डमा २७ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५ वटा पुल र कल्भर्ट निर्माणको खर्च १२ करोड ५ लाख रुपैयाँ छ । पाल्पा खण्डमा ११ करोड २९ लाख रुपैयाँ खर्चेको छ । यस खण्डको २ करोड ९७ लाख रुपैयाँ पुल निर्माणको हो । यसबाट साढे ३ किलोमिटर पक्की गर्ने, साढे १० किलोमिटर ग्राभेल गर्ने काम भएको छ । वैकल्पिक मार्गमा साढे ४ किलोमिटर क्षेत्र अझै कच्ची छ ।

उक्त कच्ची सडक सबैभन्दा अप्ठ्यारो र जोखिमपूर्ण भएको रूपन्देही खण्ड हेरिरहेका भौतिक पूर्वाधार विकास कार्यालय रूपन्देहीका प्रमुख इन्जिनियर ललित न्यौपानेले बताए । ‘ठूलो चुरे क्षेत्रको पहाड छिचोल्नु पर्नेछ,’ उनले भने, ‘त्यो पहाड छेड्दा तल बनाएकै सडक पनि खस्ने हो कि भन्ने समस्या छ ।’

प्रकाशित : श्रावण २४, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?