पारिका विद्यार्थी वारि

कान्तिपुर संवाददाता

बर्दिया — सीमावर्ती भारतको बहराइचस्थित बलैगाउँका अभिषेक कुसवा यहाँको बढैयाताल गाउँपालिकामा रहेको विद्यालयमा पढ्न आउँछन् । उनी स्थानीय बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टरमा कक्षा १० मा अध्ययन गरिरहेका छन् । यहाँका शिक्षक अनुभवी भएकाले पढ्न आएको उनले बताए । बलैगाउँकै उमर खान पढाइ स्तरीय भएकाले एक वर्षदेखि यहीं अध्ययन गरिरहेको बताउँछन् । कुसवा घरबाटै खाना बोकेर विद्यालय आउने गरेका छन् ।

अहिले सीमापारिबाट एक दर्जनभन्दा बढी विद्यार्थी यहाँ आइरहेका छन् । सीमाबाट गाडीको आउजाउमा एसएसबीद्वारा रोक लगाइएको छ । रिसर्च सेन्टरका प्रबन्धक निर्देशक बुद्ध गिरीले एसएसबीले विद्यालयको सवारी साधनबाट विद्यार्थी बोक्न दिने भनेपछि अब केही दिनमा सञ्चालन गर्ने बताए । यहाँ आएर अध्ययन गर्न चाहने धेरै भए पनि सवारी साधन नचल्दा आउजाउ गर्न समस्या भएको उनले सुनाए । अब सीमापारिसम्मै बस आवतजावत गराउने लक्ष्य लिएको उनले बताए । भारतीय सीमा बलैगाउँसम्म स्कुल बस सञ्चालन गरे धेरै विद्यार्थी यहाँका विद्यालयमा अध्ययनका लागि आउने सञ्चालक गिरीले बताए ।

झन्डै ७ बिघा क्षेत्रफलमा रहेको यस रिसर्च सेन्टरमा १ हजार १ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर जिल्ला प्रथम भएको विद्यालयका प्रधानाध्यापक भोजराज बरालले बताए । कक्षा ७ मा अध्ययन गर्दै आएका भारतीय विद्यार्थी आयुष कुसवाले नेपालमा राम्रो पढाइ हुने गरेको बताए । ‘उच्च शिक्षाका लागि नेपाली सीमामा विद्यालय भएको भए हामी यहीं पढ्ने थियौं,’ हिन्दीभन्दा अंग्रेजीमा राम्रो दख्खल भएका उनले भने ।

बर्दियाका सरकारी विद्यालयमा यहाँ मजदुरी गर्ने भारतीयका छोराछोरीले समेत अध्ययन गरिरहेको अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज शर्माले बताए । सीमावर्ती क्षेत्र बलैगाउँमा सरकारी र निजी विद्यालय भए पनि उनीहरूको रोजाइ यहाँका सरकारी र निजी विद्यालय भएको उनले जनाए ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?