दसैं खर्च जोहो गर्न भारततिर

जमुनाह नाका हुँदै दैनिक एक हजार जना भारततर्फ जाँदै
रूपा गहतराज

नेपालगन्ज — नेपाल–भारत सीमा नाका जमुनाह हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दसैं खर्च जुटाउन भारत जान लागेका हुन् । असारे रोपाइँ सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली भारततर्फ जाँदै गरेको दृश्य जमुनाह नाकामा दैनिक देखिन्छ ।

दसैं खर्च जोहो गर्न भारततिर

शुक्रबार सीमा नाका जमुनाहमा भेटिएका दाङका मोहन वलीले रोपाइँ सकेर भारत जान लागेको बताए । ‘वर्षभरि खाने खेती रोप्न आएको थिएँ,’ उनले भने, ‘अब चाडपर्वको खर्च जोहो गर्न फेरि हिंडियो मुम्बईतिरै ।’ उनको समूहमा गाउँका १० जना युवा उनीसँगै भारततिर जाँदै थिए । वर्षमा ६ महिना नेपाल र ६ महिना भारतमै बित्ने गरेको उनीहरूले सुनाए ।

झन्डै ३० वर्षदेखि भारतमा काम गर्दै आएका दैलेखका रमेश विष्टले भारत नगई आफ्नो दैनिक नचल्ने बताए । भारतीय बस छुट्छ कि भनी हतारमा हिंडिरहेका उनले सिमला जाने बताए । ६ जनाको परिवार पाल्न भारत जानैपर्ने बाध्यता रहेको उनले सुनाए । ‘जुनै व्यवस्था आए पनि हाम्रो अवस्था बदलिएन,’ उनले दुःखेसो सुनाए, ‘खेतीपातीका बेला स्वदेश र अन्य बेला झोला बोकी भारत नपसी सुखै छैन ।’

सल्यानका मोहनलाल रोकाले भने गाउँमा काम गर्ने वातावरण नहुँदा भारत जानुपर्ने बाध्यता रहेको सुनाए । ‘गाउँमा काम छैन । गरेको कामको पनि उचित पारिश्रमिक पाइँदैन,’ उनले भने, ‘हाम्रो नेपालमा राम्रो रोजगारको व्यवस्था नभएकाले भारत जानु परेको छ । गरिबलाई हेर्ने सरकार कहिल्यै देख्न पाइएन ।’ सरकारले समेत यस्ता विषयमा चासो नदिंदा वर्षौंदेखि भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य भएको सुर्खेतका मानबहादुर रोकाले बताए । ‘घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो र? तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ,’ उनले भने, ‘नेताहरू कार्यकर्ता पोस्नमै व्यस्त छन्, हाम्रो हालत जस्ताको त्यस्तै छ ।’

कक्षा १२ पास गरे पनि स्वदेशमा केही काम नपाएपछि भारतमा मजदुरी गर्न जान लागेको दैलेखका डम्बर थापाले बताए । ‘अब चाडपर्व सुरु हुन थाल्यो, खर्चपानी चाहियो । परिवार त पाल्नै पर्‍यो,’ उनले भने, ‘नेपालमा हाम्रा लागि जागिर छैन । आफ्ना मान्छे हेरी यहाँ काम दिइन्छ । भनसुनबिना कामै पाइँदैन ।’ नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि वर्षैपिच्छे भारत जानुपरेको सल्यानका गणेश बुढाथोकीले सुनाए । ‘आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन । त्यसैले बाध्यताले भारतमा मजदुरी गर्न जानु परेको छ,’ उनले भने, ‘आफ्नै गाउँठाउँमा बस्ने रहर त कसलाई हुँदैन र ∕ तर, यहाँ काम पाइँदैन ।’

अहिले जमुनाह नाकामा दिनहुँ भारततर्फ जाँदै गरेका नेपालीको घुइँचो देखिन्छ । दैनिक एक हजारको संख्या यो नाका हुँदै भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले बताए । ‘अहिले स्याउ टिप्ने सिजन भएकाले सिमला जानेहरूको संख्या बढी छ,’ उनले भने, ‘स्वदेशमा रोजगारी नपाएपछि दैनिक गुजाराका लागि भारततिरै जानुपर्ने विकल्प उनीहरूसामु छ ।’

प्रकाशित : श्रावण २३, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?