कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा जोड

कान्तिपुर संवाददाता

पाल्पा — चार जिल्लाका १५ पालिकाका जनप्रतिनिधिहरूको भेलाले सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा जोड दिएको छ । सिद्धार्थ आर्थिक करिडोर क्षेत्रको विकासका लागि पहिलो काम राजमार्ग स्तरोन्नति भएको भेलाले निष्कर्ष निकालेको हो ।

सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा जोड

रूपन्देही, पाल्पा, स्याङ्जा र कास्कीबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा आयोजना गरिएको थियो । भेलाले ६ बुँदे साझा घोषणापत्र जारी गरेको छ । सार्वजनिक निजी साझेदारी मोडलबाट यस क्षेत्रको विकासमा स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण हुने भेलाको निष्कर्ष निकालेको छ ।

सिद्धार्थ आर्थिक करिडोरको मूल आधार सिद्धार्थ लोकमार्ग स्तरोन्नतिका लागि मापदण्ड अनुसार आवश्यक कार्यका लागि सम्बन्धित निकायहरूमा आवश्यक पहल र समन्वय गर्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । करिडोरअन्तर्गत पर्ने विभिन्न पालिकाहरूमा उत्पादन हुने कृषि उपजको व्यवसायीकरण, बजारीकरणको व्यवस्थापनमा जोड दिन पनि राजमार्गको स्तरोन्नति हुनुपर्ने उनले बताए । ‘पोखराबाट भारतको सुनौली बजारसम्म चार घण्टामा पुग्ने गरी सडक स्तरोन्नति हुनुपर्छ,’ उनले भने, ‘लुम्बिनी र पोखराका साथै पाल्पाको पर्यटन विकासलाई पनि जोड्न सकिन्छ ।’

तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस क्षेत्रको आर्थिक–सामाजिक समुन्नतिका लागि अन्तर–पालिका सहकार्य आवश्यक भएको बताए । सार्वजनिक निजी साझेदारीको मूल विषयवस्तुमा केन्द्रित भएर भेला सम्पन्न भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?