२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

होल्डिङ सेन्टर प्रयोगविहीन

केन्द्र, प्रदेश र स्थानीय सरकार कसलाई हस्तान्तरण गर्ने भन्नेमा अन्योल
जे पाण्डे

बाँके — कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहर यहाँका सरकारी अस्पतालको क्षमताले थेग्न नसक्ने गरी भयावह रूपमा फैलियो । सरकारी स्तरको एउटा भेरी अस्पताल अस्तव्यस्त भएपछि सीमा क्षेत्रमा संक्रमितलाई राखेर उपचार गर्ने भनी होल्डिङ सेन्टर निर्माण गरिएको थियो । २९ करोड ३८ लाख रुपैयाँमा निर्माण सकेको ठेकेदार कम्पनीले सेनालाई भवन हस्तान्तरण गरिसकेको छ । तर, सेनाले केन्द्र, प्रदेश र स्थानीयमध्ये कुन सरकारलाई हस्तान्तरण गर्ने भन्ने अन्योलले सेन्टर प्रयोगविहीन बनेको छ ।

होल्डिङ सेन्टर प्रयोगविहीन

नेपालगन्ज उपमहानगरपालिकाको भवनीयापुरमा सेनाले १ हजार शय्या क्षमताको होल्डिङ सेन्टर बनाएको छ । सेन्टरमा विभिन्न २२ वटा ब्लक छन् । आधुनिक धारा र शौचालय बनाइएको छ । अक्सिजनको छुट्टै कोठा छ । दुईवटा भवन चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि छुट्याइएको छ । खाना पकाउने र खाने ठूलठूला कक्ष छन् । एउटा विशाल अस्पतालजस्तै देखिने होल्डिङ सेन्टर ठेकेदारले साउन १३ मा सेनालाई हस्तान्तरण गरेको हो । ०७८ साउन २४ मा ठेक्का सम्झौता भएको थियो । ‘कसलाई बुझाउने भन्ने अझै टुंगो छैन,’ एक सैनिक अधिकारीले भने, ‘पहिलेको सम्झौताअनुरूप निर्माण सम्पन्न भए पनि कम्पाउन्डमा जम्ने पानीको निकास र वरपरि पेटी निर्माण गर्न बाँकी नै छ ।’ ती सैनिक अधिकारीले संकट पर्दा कुनै पनि बेला प्रयोगमा ल्याउन सकिने गरी सेन्टर निर्माण सम्पन्न भएको बताए ।

हाल भारतका ठूला सहरमा चौथो लहरको संक्रमण बढ्दै गएको छ । त्यसको सोझो असर यताका सीमावर्ती सहर र बस्तीमा देखिन थालेको छ । नेपालगन्जको जमुनाह नाका हुँदै आउनेहरूको रगत परीक्षण गर्दा नेपाल र भारत दुवैतिरका नागरिकमा संक्रमण देखिन थालेको हो । अस्पतालका शय्यामा सक्रिय संक्रमितको सख्या थपिंदै गएको छ । तर, सरकारले होल्डिङ सेन्टर प्रयोगमा ल्याएर संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सकेको छैन ।

अहिले यहाँका संक्रमितहरू होम आइसोलेसनमा छन् । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार पहिलो लहर सुरु भएयता बुधबारसम्म २१ हजार १ सय ७९ जना संक्रमित भएका छन् । २० हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् । ३ सय ५३ जनाको मृत्यु भएको छ । ४६ जना सक्रिय संक्रमित अझै होम आइसोलेसनमा छन् । क्रमिक रूपमा संक्रमण बढ्दो छ । यो अवस्थामा सरकारले जति सक्दो छिटो होल्डिङ सेन्टर सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउनु पर्ने सरोकारवालाको सुझाव छ ।

‘सेन्टर केन्द्रस्तरको निर्णयमा बनाइएको हो । अहिले सेनाले हस्तान्तरण गरेको छैन । हस्तान्तरण गर्‍यो भने पनि खानपान र संरक्षण व्यवस्थापन कसले र कसरी गर्ने भन्ने टुंगो छैन । सञ्चालन खर्च छैन,’ जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले भने, ‘सेन्टर हस्तान्तरण र सञ्चालन प्रक्रियामै होला । त्यसैले ढिलाइ भएको हो कि !’ संक्रमित राख्ने उद्देश्यले निर्माण गरेको होल्डिङ सेन्टरको सुरक्षार्थ सैनिक तैनाथ गरिएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?