सिस्ने गाउँपालिकामा पूर्वाधार एम्बुलेन्स सञ्चालन


रुकुम पूर्व — वर्षा र पहिरोले गर्दा अवरुद्ध भइरहने सडक खुलाउन सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गइरहने र त्यसले बाटो अवरुद्ध भइरहने भएकाले आपतकालीन रुपमा सडक खुलाउन प्राविधिकसहित जेसीबी र ट्याक्टर परिचालन गरिएको हो ।

ट्याक्टरसहित अरु ३ जना कर्मचारीलाई पनि गाउँपालिकाले परिचालन गरेको जनाएको छ । 'वर्षायाममा धेरै ठाउँमा ससाना पहिरो र बाढीका कारण जनताले दुःख नपाउन् भनेर यो एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं,' गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताए ।
एक सातादेखि सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्सले हालसम्म कम्तीमा ६ ठाउँमा काम गरिसकेको उपाध्यक्ष रेउलेले बताए । यस सेवाका लागि गाउँपालिकाले प्राविधिक, अपरेटर, चालक र अरु ३ जना कामदार गरी ६ जनाको फोन नम्बर पनि सार्वजनिक गरेको छ ।
जहाँ जतिबेला समस्या आउँछ त्यतिबेला नै जाने र समस्या समाधानको प्रयास गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘कच्ची सडक र वर्षा भइरहने मौसममा सडक कतिबेला कहाँ भत्किन्छ थाहा हुँदैन । थाहा भए पनि सहजीकरण गर्न सकियोस् भनेर पूर्वाधार एम्बुलेन्स बनाएर परिचालन गरेका हौं,’ गाउँपालिका अध्यक्ष रेग्मीले भने ।
