लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो र डेंगु बिरामीको भीड- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो र डेंगु बिरामीको भीड

१५ दिनमै १८०२ जना उच्च ज्वरोका बिरामी लुम्बिनी अस्पतालमा
अमृता अनमोल

बुटवल — बुटवल रामनगरका ध्रुव आचार्यलाई १० दिनअघि हनहनी ज्वरो आयो । टाउको फुट्लाजस्तै दुख्यो भने कटकटी शरीर खायो । उनी स्थानीय सिद्धबाबा अस्पतालमा भर्ना भए । परीक्षणपछि डेंगु संक्रमण पुष्टि भयो । शरीरको प्लेटनेस अर्थात् रक्तकोषिका घटेर ४० हजारमा झर्‍यो । ६ दिनसम्म पनि निको नभएपछि थप उपचारका लागि काठमाडौं पुगेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आएका डेंगुका बिरामी । तस्बिर : अमृता/कान्तिपुर

उच्च ज्वरो आउने, वान्ता हुने र सहनै नसक्ने गरी जोर्नी दुखेपछि सैनामैना, मुर्गियाका रोशन अधिकारी ७ दिनयता लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । खाना खायो कि वान्ता हुँदा कमजोर बनेका उनमा पनि डेंगु संक्रमण देखिएको छ । रक्तकोषिका घटेर नियमित ह्वाइट ब्लड चढाइएको छ । ‘ज्वरोले यति गलायो कि बोल्न, उठ्न समेत नसक्ने भएको छु,’ उनले भने ।

ध्रुव र रोशनजस्तै असार अन्तिम सातादेखि एक हप्तासम्म हनहनी ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर चिलाउने, शिथिल हुने लगायत लक्षणका बिरामी रूपन्देहीमा बढेका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १८ सय २ जना उच्च ज्वरोका बिरामी उपचारका लागि पुगेका छन् । तीमध्ये १ सय ५१ जनामा डेंगु देखिएको छ । गम्भीर ३० जनालाई अन्यत्र पठाइएको छ ।

रक्तकोषिका कम भएका ४१ जना अस्पतालमै छन् । अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले ३ हप्तायता उच्च ज्वरो भएर आउने बिरामीमा डेंगु संक्रमण देखिने क्रम बढेको बताए । ‘डेंगु ज्वरोले कम्तीमा एक हप्ता गाल्ने, छिटो निको नहुने र कमजोर बनाउने गरेको छ,’ उनले भने ।

असार १५ पछि तराईका जिल्लामा उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणले एकैघरमा अधिकांश थलिंदा पारिवारिक अवस्था बिजोगलाग्दो बनेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धेरै बिरामी बुटवल, तिलोत्तमा र सैनामैनाका छन् । सहरी क्षेत्रमा खाली तथा थोत्रा टायर र पानी जम्ने ठाउँ बढी भएका स्थानमा लामखुट्टे धेरै हुने भएकाले डेंगुको संक्रमण बढी भेटिएको छ । बिरामी निजी र सरकारी दुवैमा गएकाले कति बिरामी छन् भन्नेबारे यकिन तथ्यांकसमेत जिल्ला स्वास्थ्य कार्यालयमा नरहेको सूचना अधिकारी केदार शाहले बताए । उनका अनुसार स्थानीय अस्पतालहरूले परीक्षणका लागि किट मागिरहेका छन् । किट स्टक नहुँदा दिन नसकिएको उनले बताए ।

डेंगुको संक्रमणले बिरामीको प्लेटनेस ह्वात्तै घटाउँछ । प्लेटनेस ६० हजारभन्दा कम भएमा अन्य व्यक्तिको ताजा ह्वाइट ब्लड चढाउनुपर्छ । माग बढेपछि रक्त सञ्चार केन्द्रलाई ह्वाइट ब्लड खोज्न र पुर्‍याउन भ्याइनभ्याई छ । नेपाल रक्तदाता स्वयंसेवी समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले साउन सुरु भएपछि ताजा रगत बढी चाहिएकाले तत्काल रक्तदान गर्ने र रगत जुटाउने काममा समस्या भइरहेको बताए । ‘दैनिक ३० जनासम्मलाई रगत दिनुपरेको छ,’ उनले भने ।

डेंगु एडिस एजेप्टाई र एल्वौपेक्टस नामक पोथी लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । उक्त लामखुट्टेले ‘ओ’ रगत समूह भएकालाई बढी र त्यसपछि ‘ए’ अनि ‘बी’ रगत समूहलाई निसाना बनाउँछन् । यसअघि वर्षा सुरु भएपछि लामखुट्टे नष्ट गर्न र डेंगु संक्रमण रोक्न स्थानीय तहहरूले लामखुट्टे खोज र नष्ट गर अभियान चलाउने गरेका थिए । लामखुट्टेका वासस्थान फाल्न सरसफाइ र विषादी छर्ने, विपन्नलाई झुल वितरण गर्ने गर्थे । यसपालि पनि जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहमा डेंगुविरुद्ध चेतना जगाउन बजेट गएको छ । तर, डेंगु नियन्त्रणको सरकारी अभियान ठप्प छ । यस्तोमा नागरिक स्वयंले घरवरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, पानीको ट्यांकीलाई छोपेर राख्ने, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा शरीर ढाक्ने गरी लुगा लगाउने, सुत्दा झुल प्रयोग गरेर लामखुट्टे बढ्न नदिने डेंगुको संक्रमणबाट बच्ने उपाय भएको चिकित्सकीय सुझाव छ । ‘लामखुट्टेको वृद्धि र फोहोर तथा टायरहरूको उचित व्यवस्थापन नहुँदा डेंगु ज्वरोका बिरामी थपिंदै गएका छन्,’ वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले भने, ‘यो क्रम कात्तिकसम्म रहन सक्छ ।’

प्रकाशित : श्रावण २०, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

लोक्पामा फेरि पहिरो, आउजाउ ठप्प

छुलेखोलाको फड्के बगाएपछि जोखिमपूर्ण यात्रा
हरिराम उप्रेती

गोरखा — गतवर्ष झन्डै चार महिना लगातार झरेर थामिएको चुमनुव्री गाउँपालिका–६ को लोक्पा भीरको पहिरो फेरि खसेको छ । चुमनुव्री–६ र ७ को दुई वडा पुग्ने एक मात्र पैदलमार्ग लोक्पा भीरमा पहिरो खस्न थालेपछि आउजाउमा सकस बढेको छ । एक सातादेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड वारपार गर्न नसकेको लोक्पाका सेराप गुरुङले बताए ।

गोरखाको चुमनुव्री–६ स्थित लोक्पा भीरमा खसेको पहिरो। तस्बिर : कान्तिपुर

‘पहिरो चलेको ९–१० दिन भयो, सुरुको दिनमा बेलाबेला मात्र पहिरो खस्थ्यो, दुई दिन भयो पहिरो निरन्तर छ,’ उनले भने, ‘आउन जान सकेका छैनौँ ।’ दुई दिनअघि छेकम्पार हिँडेका दुई जना स्थानीय ढुंगाको ओत लागेर पहिरोबाट बचेको शेरापले बताए । ‘अत्यावश्यक काम भएका पहिरो हेर्दै कुद्ने गरेका छन्, अस्ति पनि दुई जना ढुंगाको छेल लगाएर बसेर जोगिए,’ उनले भने । लोक्पा भीरको निरन्तरको पहिरोले स्थानीय गन्तव्यमा नपुगी बीच बाटोबाटै फर्किन गरेको उनले जानकारी दिए । ‘हिजो र अस्ति दिनरातै पहिरो चलिरहेको छ, समस्या बनायो,’ उनले भने, ‘डाँडा भासिँदै त्यहाँ माथि थपिँदै, फेरि भासिँदै गएको छ ।’ पहिरोले लोक्पाका स्थानीय चुम्लिङमा रहेको वडा कार्यालय पनि जान पाएका छैनन् । छेकम्पार र चुम्चेतमा नुनतेल, चामललगायत खाद्यान्न ढुवानी पनि रोकिएको छ । ‘कोही–कोही मुस्किलले हिँडेका हुन्,’ शेरापले भने, ‘खच्चड हिँड्ने त बाटो नै छैन ।’

चुम्चेत र छेकम्पार पुग्ने लोक्पा भीरमा करिब ५ सय मिटर बाटोमा पहिरो रहेको स्थानीय बताउँछन् । चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पार प्रवेशद्वारको लोक्पामा गत वर्षको साउन ३० बाट बग्न सुरु भएको पहिरो ३ महिनापछि रोकिएको थियो । फेरि यस वर्ष निरन्तरको वर्षात्पछि पहिरो बग्न थालेको हो । सडक सञ्जालको पहुँचबाहिर रहेको उक्त क्षेत्रमा पैदलबिना अर्को विकल्प छैन । भौगर्भिक अध्ययन र रोकथाममा सरकारको बेवास्तामा परेको उक्त क्षेत्रमा निरन्तरको पहिरोले स्थानीय चिन्तित छन् ।

मुख्यमार्गको उक्त बाटोबाहेक स्थानीयलाई आउजाउको अर्को सजिलो विकल्प पनि छैन । १० घण्टा अतिरिक्त दूरीको गाउँपालिकाको केन्द्र फिलिम–राना–दोर्जुङ, इङगुलिङ खोला हुँदै चुम्चेत पुग्ने अर्को बाटो छ । उक्त मार्गको रानाबाट इङगुलिङ खोलासम्म बस्ती छैन । लोक्पाको पहिरो रोक्न यही वर्षामा दुइपल्ट प्रयास गरे पनि पहिरो नरोकिएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘यही बर्खामा दुइपल्ट वनायो, अहिले झरेको पहिरो बनाउन सक्ने स्थित रहेन,’ लामाले भने, ‘बर्खाले ठूलो समस्या ल्यायो, चुम उपत्यकाका लागि लोक्पा पहिरो ठूलो चुनौतीको रूपमा देखिएको छ ।’ पानी परेपछि पहिरो खस्ने गरेको उनले बताए । ‘अहिले मान्छे हिँड्न सक्ने अवस्था छैन, बनाउने सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘हिँड्नै पर्ने स्थानीयलाई सुरक्षित बाटो रोज्न र लोक्पा भीरमा जोखिम नलिन आग्रह गरेका छौँ ।’ खच्चड आउजाउ गर्न नसकेपछि अहिले उपभोग्य सामग्री ढुवानी रोकिए पनि खाद्यान्नको समस्या भने नरहेको उनले बताए । ‘यसअघि नै ढुवानी भएको खाद्यान्न स्टक छ, एक महिना बाटो अवरुद्ध भयो भने चाहिँ खानेकुराको पनि समस्या पर्छ,’ उनले भने । पानी रोकिएपछि भौगर्भिक अध्ययन गरी पहिरो रोकथामको प्रयास गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै तिब्बत सीमा क्षेत्रमा रहेको गोरखाको अन्तिम गाउँ छेकम्पारस्थित छुलेखोलाको बाढीले फड्के बगाएपछि स्थानीय जोखिम मोलेर खोलामा हेलिएर आउजाउ थालेका छन् । मंगलबार बिहानको वर्षापछिको बाढीले फड्के बगाएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । गोरखा सदरमुकामबाट ५३ कोष टाढाको दुर्गम यो गाउँमा बर्सेनि खोलाको फड्के बगाउने समस्याले सताउने गरेको छ । गहुँ काट्ने बेला अहिले दुई गाउँका ६० घर धुरी स्थानीयलाई आउजाउमा जोखिम वढाएको छ । फड्के तिब्बत पुग्ने मूलबाटोमा पर्छ । ‘गहुँ काट्ने बेला भएको छ, फड्के नभएपछि समस्या भयो, सबै गाउँले जम्मा भएर अर्को काठको पुल बनाउने तयारीमा छन्,’ लामाले भने । तत्कालका लागि अस्थायी प्रकृतिको काठेपुल राख्न विपद् व्यवस्थापनबाट बजेट व्यवस्थापन गर्ने उनले बताए । बर्खापछि भने उक्त स्थानमा झोलुंगेपुल निर्माण हुने अध्यक्ष लामाले बताए ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×