२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खर्च विवरण बुझाउन अटेर

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीका पालिकाका जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । चार पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले खर्च विवरण बुझाएका छैनन् भने तीन पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले तोकिएको समयभन्दा ढिला गरी खर्च विवरण बुझाएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम नतिजा प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिनेले खर्च विवरण निर्वाचन कार्यालयमार्फत आयोगमा पठाउनु पर्ने प्रावधान छ ।

खर्च विवरण बुझाउन अटेर

खर्च विवरण बुझाउन अटेर गर्नेमा रामग्राम नगरपालिका प्रमुख धनपद यादव, उपप्रमुख सम्झना चौधरी, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, उपप्रमुख सूर्यप्रसाद दुबे, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, उपाध्यक्ष फातिमा अन्सारी खातुन र सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी र उपाध्यक्ष वासमती हरिजन रहेको निर्वाचन कार्यालयले जनाएको छ । सुस्ता र बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले समयावधि सकिएपछि मात्र विवरण बुझाएका छन् । ढिलो गरी खर्च विवरण बुझाएका जनप्रतिनिधिको विवरणको अर्थ नरहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताए । जिल्लाको स्थानीय तह निर्वाचनको अन्तिम नतिजा जेठ ६ मा आएको हो । असार ६ भित्र विवरण बुझाउनु पर्ने भए पनि १२ जनाबाहेक कसैले पनि समयमा खर्च विवरण नबुझाएको मोक्तानले बताए । निर्वाचनमा २ हजार १ सय ९ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?