पाल्पाका ताल र झरनामा पर्यटकको भीड


पाल्पा — पाल्पाको तिनाउ गाउँपालिकाका रानी झरना, सिद्ध सरोवर (भूतखोला), सुकेताल, सत्यवती ताल, रामपुरको तालपोखरा र चिन्ते झरनामा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ ।

परम्परागत रूपमा सञ्चालनमा रहेका तालतलैया, झरनालाई संघीय, प्रदेश र स्थानीय सरकारले व्यवस्थित गरेपछि पर्यटक बढेका हुन् । प्रदेश सरकारले ५ देखि २० लाख रुपैयाँसम्म झरना, ताल व्यवस्थित गर्न बजेट निकासा गर्दै आएको छ । संघीय सरकारले ५० लाखसम्म बजेट पठाएको छ । ‘संघीय र प्रदेश सरकारको सहयोगमा केही व्यवस्थित गर्ने प्रयास गरेका छौं,’ डिभिजन वन कार्यालय प्रमुख दीपक ज्ञवालीले भने, ‘अहिले सामुदायिक वन समूहका सदस्यले चासो दिएकाले पनि सहज भएको छ ।’
भूतखोला झरना तथा सिद्ध सरोवरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवलोकन गर्दै आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए । यो झरना सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान नजिक छ । दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकको भीड लाग्ने गर्छ ।
‘विगतमा झरनाको पानी झर्ने क्षेत्र गहिरो भएर मानवीय क्षति हुने गरेको थियो,’ भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकामगरले भनिन्, ‘अहिले त्यस क्षेत्रको जोखिम हटाएर दैनिक रूपमा कर्मचारीहरू खटाउँदै झरना सञ्चालनमा ल्याइएको छ ।’
भूतखोला झरना अवलोकनका लागि २० रुपैयाँ टिकट मूल्य राखिएको छ । यहाँको जल साउनको सोमबारको दिनमा सिद्धबाबा मन्दिरमा चढाउने परम्परा छ । झरना व्यवस्थित गर्न प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयमार्फत २० लाख, गाउँपालिकाको ४ लाख र स्थानीय श्रमदानसमेत रहेको छ । झरना क्षेत्रको सौन्दर्यकरण, पर्यटकहरूले हेर्ने, रमाउने तथा पौडी खेल्ने गरी व्यवस्थापन गरिएको छ ।
रामपुर नगरपालिका–१, गाँडाकोटस्थित चिन्ते सामुदायिक वनमा रहेको छाङदी झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । एक वर्षअघिसम्म गुमनाम चिन्ते झरना कालीगण्डकी करिडोरको स्तरोन्नतिसँगै चर्चामा आएको हो । ‘डिभिजन वन कार्यालयमार्फत सहयोग पाएपछि हामीले व्यवस्थित गर्ने प्रयास गर्यौं,’ चिन्ते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खिमबहादुर नेपालीले भने, ‘पर्यापर्यटनका लागि सौन्दर्यकरणको काम गरेका छौं । त्यसपछि भने सुनसान झरना परिसर भरिभराउ हुन थालेको छ ।’
झण्डै सय मिटर माथिबाट झर्ने झरनाको पानीमा रमाउन, पौडी खेल्न र दृश्य अवलोकनका लागि दैनिक २ देखि ३ सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा २ देखि ३ सय पुग्छन् भने शनिबारको दिन ५ सय बढीको भीड लाग्ने गरेको अध्यक्ष नेपालीले बताए ।
प्रकाशित : श्रावण १८, २०७९ ११:५३