कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेलहिया-बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी 

सन्जु पौडेल

तिलोत्तमा — व्यापारिक मार्ग विस्तार आयोजनाले रुपन्देहीको बेलहिया–बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । सडक विस्तारका लागि सम्झौता भएको लामो समयसम्म पनि निर्माण पूरा नगरेको भन्दै आयोजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।

बेलहिया-बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी 

निर्माण सम्झौता भएको ६ वर्ष भईसक्दा पनि सडक निर्माण सम्पन्न नभएपछि सडक विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कारण पेस गर्न भनेको छ ।

तीन वर्षभित्र सक्ने गरी काम थालिएको बुटवल–बेलहिया सडक विगत १० वर्षदेखि अलपत्र छ । यो सडकलाई व्यापारिक मार्गका रुपमा ६ लेनको बनाउने आर्थिक वर्ष २०६८/६९ बाट निर्माण थालिएको हो । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले कार्य प्रगति न्यून भएको, म्याद समाप्त भएका र कुनै समस्याबिना पनि लामो समयसम्म निर्माण रोकिएको भन्दै सूचना प्रकाशित गरेको छ । निर्माण अगाडि बढाउन विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्य प्रगति नभएको, निर्माण कार्य प्रगति गराउन तथा परिमार्जित कार्यतालिका पेस गर्न सम्बन्धित कार्यालयको पत्र, सूचनालाई समेत बेवास्ता गरी निर्माण सम्पन्न नगरेको सूचनामा उल्लेख छ ।

आयोजनाले ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ दिनभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरणसहित आधिकारिक व्यक्तिहरु कार्यालयमा उपस्थित हुन भनेको छ । ‘सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ (सात) दिनभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरणसहित आधिकारिक व्यक्तिहरु यस योजना कार्यालयमा उपस्थित हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ,’ आयोजनाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले बिरुवा–श्रेष्ठ–एपेक्स जेभीका ठेकेदार सुवित श्रेष्ठ काठमाडौंलाई पत्रसमेत पठाएकी छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया थालेको हो । अरु खण्डको निर्माण गरिरहेका अन्य जेभी निर्माण कम्पनीहरु बिरुवा/श्रेष्ठ/एपेक्स जेभी काठमाडौं र द कञ्चनजंगा/बिरुवा जेभीको पनि ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?