कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नक्कली युरेनियमबाट ठगी धन्दा

जे पाण्डे

नेपालगन्ज — तराईको सीमावर्ती क्षेत्रबाट नक्कली युरेनियम तस्करी हुँदै आएको छ । नक्कली युरेनियमको ठगी धन्दामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गर्दा यसको तस्करी तथा ठगी धन्दाको रहस्य खुलेको हो । जानकी–२, बोगटिया गाउँ हुँदै दक्षिण भारततिर जाँदै गरेको रातो नम्बर प्लेटको स्कार्पियोमा युरेनियम लगिंदैछ भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार ४ जनालाई नियन्त्रणमा लिएको हो । 

नक्कली युरेनियमबाट ठगी धन्दा

बा११च ७४७३ नम्बरको स्कार्पियो गाडी खानतलास गर्दा युरेनियमजस्तै देखिने २ किलो ८ सय ग्राम धातु फेला परेको थियो । ‘परीक्षण गर्दा युरेनियम नभएको पुष्टि भयो,’ जिल्लाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘कस्तो खालको धातु हो ? त्यो पत्ता लगाउन खानी तथा भूगर्भ विभागमा पठाएका छौं ।’ प्रहरी उपरीक्षक अधिकारीले ठगी धन्दामा लागेको समूहले भरियामार्फत नक्कली युरेनियम पठाएको बताए ।

ठगी धन्दामा संलग्न भएको आरोपमा प्रहरीले बाँकेको खजुरा–६ का नरबहादुर सुनार, रोल्पाको गंगादेव गाउँपालिका–५ का मोहनसिंह कामी, नुवाकोटको म्यागङ गाउँपालिका–५ का उत्तम तामाङ र खोटाङको रूपाकोट नगरपालिका–६ का जयबहादुर विकलाई पक्राउ गरेको छ ।

चालक सिटको पछाडि नक्कली युरेनियमको पोका लुकाएर काठमाडौंबाट गुडेको गाडीले ५ सय किलोमिटर यात्रा पार गर्दै नेपालगन्ज आइपुग्दा सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका धेरै चेकपोस्ट छिचोलेको थियो । शुक्रबार राति ४ जना नेपालगन्जकै एउटा ठूलो होटलमा बास बसेका थिए । अर्को दिन प्रहरीले आफैं व्यापारी बनेर बोगटिया गाउँमा पुगेपछि नक्कली युरेनियम नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू ठगी धन्दाका नाइकेले प्रयोग गरेका भरिया मात्र हुन् ।

नेपाल प्रहरीले नेपालगन्जमा युरेनियम नाइट्रेट नियन्त्रणमा लिएको हल्ला फैलिनासाथ सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायले निगरानी र सक्रियता बढाएका थिए । ‘यसले दुवैतिरका सुरक्षा निकाय निकै सचेत हुनुपर्ने अवस्था सिर्जना गर्‍यो । ठूलो चुनौती पनि बन्यो,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘यस्तो कुरा निकै संवेदनशील हुने भएकाले चासो र निगरानी बढाउनुपर्ने अवस्थामा पुर्‍यायो ।’

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले नक्कली युरेनियम बनाएर ठगी धन्दामा लाग्नेहरूमध्ये विराटनगरमा १५ जना पक्राउ परेको जानकारी दिए । प्रवक्ता राईका अनुसार साउन १ मा विराटनगरको ट्राफिक चोक नजिकैको एउटा होटलबाट आठ जना र साउन ३ मा विराटनगरकै एउटा दुधफार्मबाट सात जनालाई झन्डै २ किलो युरेनियम जस्तै देखिने धातुसहित नियन्त्रणमा लिइएको थियो ।

विराटनगरमा पक्राउ गरिएको नक्कली युरेनियम पुष्टि भएलगत्तै बाँकेमा उस्तै प्रकृतिको घटना दोहोरिएको हो । यस्तै ठगी धन्दामा संलग्न समूहले २१ किलो नक्कली युरेनियम बनाएर सातवटै प्रदेशमा तीन/तीन किलोका दरले बिक्री गर्न पठाएको प्रहरीले अनुमान गरेको छ । विराटनगरस्थित रानी नाका हुँदै बिहारतर्फ जान हिंडेका १२ जना र नेपालगन्जबाट सीमापारि जान खाजेका चार जना गरी १६ जनालाई ठगी धन्दाको एउटै गिरोहले परिचालन गरेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?