पहाडमा फस्टाउँदै ओखर खेती

ओखर विकास कार्यक्रमका लागि २ करोड २२ लाख रूपैयाँ विनियोजन
सन्जु पौडेल

लुम्बिनी — लुम्बिनी प्रदेशका पहाडी जिल्लामा ओखर खेती फस्टाउन थालेको छ । त्यहाँका बासिन्दालाई ओखर खेतीसम्बन्धी तालिम र सहुलियत उपलब्ध गराएपछि उनीहरू यसमा केन्द्रित बनेका हुन् ।

पहाडमा फस्टाउँदै ओखर खेती

अहिले लुम्बिनी प्रदेशका रुकुम पूर्व, प्यूठान र रोल्पामा ओखर खेती भइरहेको छ । आफूले रोपेका ओखरमा फल लाग्न थालेपछि स्थानीय उत्साहित छन् ।

प्यूठानको नौबहिनी–१ का खिमबहादुर बुढामगर ओखर खेतीबाट आफ्नो पहिचान बनाउने बताउँछन् । ४५ रोपनीमा ९८ विरुवा रोपेको उनले बताए । ‘विस्तारै फल्न लागेका छन्,’ उनले भने, ‘अर्को वर्षबाट बेच्ने हुन्छ कि !’

अहिले ३ सय विरुवा थप गर्ने गरी बगैंचा विकासमा लागेको उनले बताए । प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयले रुकुम पूर्वलाई ओखर पकेट जिल्लाका रूपमा विकास गर्न लागेको छ । त्यसैले मन्त्रालयले जिल्लामा विरुवा वितरण गर्दै आएको छ ।

रुकुम पूर्वमा मात्र १७ हजार विरुवा रोप्ने लक्ष्य छ । अहिलेसम्म १० हजार ३ सय विरुवा रोपिएको डिभिजन वन कार्यालय रुकुम पूर्वका प्रमुख जितेन्द्र खड्काले बताए । ओखर खेती विकास गर्न रुकुम पूर्वका लागि गत आर्थिक वर्षमा वन मन्त्रालयले १ करोड ७७ लाख बजेट विनियोजन गरेको थियो ।

समय अनुकूल नभएकाले ६२ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम फिर्ता गरिएको उनले बताए । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र बनाइएको छ । सिस्ने तथा भुमे गाउँपालिकामा समेत खेती भइरहेको उनले बताए ।

गत वर्ष मन्त्रालयले ओखर विकास कार्यक्रमका लागि २ करोड २२ लाख रुपैयाँ छुट्याएको मन्त्रालयको योजना शाखाका अधिकृत केशर खड्काले बताए ।

रुकुम पूर्व प्रदेशमै नयाँ र पछाडि परेको जिल्ला भएकाले स्थानीयले ओखर उत्पादनबाट आय आर्जन गरुन् भनेर सरकारले लगानी गरेको उनले बताए । चालु आर्थिक वर्ष ओखर खेतीका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको खड्काले जानकारी दिए ।

‘बहुवर्षीय कार्यक्रम हो,’ उनले भने, ‘यो चलिरहन्छ ।’ उनका अनुसार अहिले स्थानीयले खेतबारीमा विरुवा रोपेका छन् । बिस्तारै सामुदायिक र कबुलियती वनमा पनि खेती गरिने उनले बताए । किसानले कमाउन सके लगानी बढाइने उनले बताए । स्थानीयलाई एउटै घरमा १ सय विरुवा रोप्ने गरी प्रोत्साहन गरिने बताए ।

१ सय विरुवा रोप्ने किसानले वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म कमाइ गर्न सक्ने खड्काले जनाए ।

ओखर विकास कार्यक्रमलाई प्रभावकारी बनाउन हरेक किसानको खेती हेर्ने गरेर तलबी सात सहजकर्तासमेत खटाइएको उनले बताए ।

ती सहजकर्तालाई जुम्लाका प्राविधिक तथा किसानबाट तालिम दिलाएर लुम्बिनी प्रदेशका जिल्लामा किसानका साथ सहजीकरण गर्ने गरी काम दिइएको हो । किसानले लगाएका विरुवा कसरी गोडमेल गर्ने, कति पानी राख्ने, फल कसरी टिप्ने, कुन मल कति हाल्ने आदिदेखि बजारसम्म किसानको उत्पादन नपुग्दासम्म रेखदेख तथा सहजीकरणमा सहजकर्ताले काम गर्ने खड्काले जनाए ।

‘गत वर्ष प्रदेशको उद्योग मन्त्रालयसमेत वनअन्तर्गत नै हुँदा पिछडिएको पुथा उत्तरगंगामा भारतमा जस्तो रासनकार्ड वितरण गर्ने कार्यक्रम लिएर गएका थियौं,’ खड्काले भने, ‘रासन कार्डसँगै ओखर खेतीसमेत गर्न सकिने माटो देखेपछि यो कार्यक्रम ल्याइएको हो ।’

उद्योगबाट रासन रुकुम पुर्‍याउने र उतादेखि ओखर बजारसम्म ल्याउने योजना भए पनि उद्योग मन्त्रालय वनबाट छुट्टिएपछि वन मन्त्रालयले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई नै ओखर खेतीका रूपमा विकास गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए । खड्काका अनुसार रुकुमको माटो विज्ञलाई देखाई ठेक्कामार्फत फर्नर जातको ओखरका बिरुवा मगाइएको हो ।

पाँच/पाँच मिटरको दूरीमा रोपिने यो ओखर दाँतले नै टोकेर फोड्न सकिन्छ । एउटै बोटमा २४ केजीसम्म फल्ने ओखरले राम्रो आम्दानी दिने उनको भनाइ छ । ‘अहिले बजार भाउ प्रतिकेजी ३ सय रुपैयाँ छ,’ उनले भने, ‘यो हिसाबले एउटै बोटबाट एकै सिजनमा किसानले ७ हजार २ सय रुपैयाँ कमाउने भए ।’

खड्काले दिएको जानकारी अनुसार प्यूठानमा ३ हजार २ सय विरुवा रोपिएको छ भने रोल्पामा २० हजार फर्नर ओखर कलमीका लागि राखिएको छ । उक्त विरुवा अब आउने सिजनमा रोपिनेछ ।

प्रकाशित : श्रावण ८, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?