प्रदेश सरकारले फेऱ्यो लुम्बिनीका मन्त्रालयको नाम र कार्यक्षेत्र- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकारले फेऱ्यो लुम्बिनीका मन्त्रालयको नाम र कार्यक्षेत्र

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयहरुको नाम परिवर्तन गर्दै कार्यक्षेत्र पनि हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्रालयको नाम र क्षेत्र हेरफेर गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तिरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय नामाकरण गरेको छ ।

अन्य मन्त्रालयको नाम मात्र परिवर्तन गरेको भएपनि प्रदेशमा नेकपा एकीकृत समाजवादीले पाएको मन्त्रालयको भने अधिकारसमेत कटौती गर्दै नाम परिवर्तन गरिएको हो । कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कानुन निर्माण र अध्ययनको जिम्मेवारी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई नै दिइएको छ । यसअघि कानुनसहित रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नेकपा एसकी रमा घर्ती मन्त्री छन् । मन्त्रिपरिषद् बैठकले प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा प्रशासन सेवाका प्रथम श्रेणीका कर्मचारी रहने गरी दरबन्दी कायम गर्ने निर्णय पनि गरेको छ । महिला मन्त्रालय लामो समयदेखि सचिवविहीन छ । आर्थिक वर्षको अन्त्यमासमेत सचिवविहीन हुँदा मन्त्रालयको पुँजीगत तर्फको धेरै बजेट खर्च नै हुन पाएन । बैठकले मन्त्रालयको सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपाललाई जिम्मेवारी दिने निर्णय भएको पनि प्रवक्ता शर्माले बताए ।

त्यस्तै बैठकले प्रदेशमा विद्युतीय उर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जगदिशपुर पंक्षी आरक्ष कार्य तथा व्यवस्थापन योजना स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७९/०८० का लागि दुई जना हलुका सवारी चालकको अस्थायी दरबन्दी थप गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रकाशित : श्रावण २, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

सिक्किममा पत्रकारलाई पेन्सन

कान्तिपुर संवाददाता

गान्तोक, सिक्किम — सिक्किम सरकारले पत्रकारका लागि पेन्सनको व्यवस्था गर्ने भएको छ । प्रेस क्लब अफ सिक्किमको २०औं स्थापना दिवसका अवसरमा आइतबार गान्तोकमा आयोजित एक समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले सिक्किममा कार्यरत पत्रकारका पेन्सन उपलब्ध गराउने घोषणा गरेका  हुन् । ‘पत्रकारका लागि पेन्सनका जरुरी महसुस गरेका छौ,’ मुख्यमन्त्रीले भने, ‘कार्यविधि बनाएर चाँडै लागू गर्ने छौं ।’

सिक्किम सरकारले पत्रकारितामार्फत अध्ययनका लागि १० जना पत्रकारलाई जनही २ लाखका दरले वार्षिक रुपमा फेलोसिप समेत प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ‘यो वर्षदेखि गम्भीर र रोचक विषयमा अध्ययन गर्न चाहने पत्रकारहरुलाई फेलोसिप उपलब्ध गराउने छौं,’ मुख्यमन्त्रीले भने, ‘अब सिक्किमेली पत्रकारिता पहिलाजस्तो लरतरो हुँदैन, त्यसका लागि हामी सक्दो सहयोग गर्नेछौं ।’ मुख्यमन्त्री तामाङले पत्रकारका लागि स्वास्थ्य बिमा पनि गर्ने घोषणा गरेका छन् ।

भाडाको कोठाबाट कार्य सम्पादन गर्दै आएको सिक्किम प्रेस क्लबलाई सरकारले गत वर्ष अनुदानका रुपमा चारतले भवन उपलब्ध गराएको थियो । ‘हामीले थोरै जमिन मागेका थियौं, सरकारले निर्मित भवन नै उपलब्ध गराएर पत्रकारका लागि ठूलो गुन लगाएको छ’, प्रेस क्लब अफ सिक्किमका अध्यक्ष शेखर खवासले भने ।

प्रेस क्लब अफ सिक्किमले वार्षिक रुपमा प्रदान गर्दै आएको कञ्चनजंघा कलम पुरस्कार, लगनशील युवा पत्रकार पुरस्कार र वरिष्ठ पत्रकारिता पुरस्कारको राशी यो वर्षदेखि सरकारले वृद्धि गरेर ५१ हजार बनाइदएको छ । पुरस्कार वितरणको जिम्मा पनि सरकार आफैंले लिएको छ ।

यो वर्ष कञ्चनजंघा कलम पुरस्कारबाट अग्रज पत्रकार भीम रावत, लगनशील युवा पत्रकार पुरस्कारबाट सुजल प्रधान र वरिष्ठ पत्रकारिता पुरस्कारबाट पुराना पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका संस्थापक शुकवीर तामाङ (एसबिब्लोन) पुरस्कृत भएका छन् । सरकारले आगामी वर्षदेखि वितरण गर्ने गरी अर्को प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । ‘टिस्टा–रंगीत अविरल कलम पुरस्कार’ को राशी १ लाख १ हजार रहने छ ।

मुख्यमन्त्री तामाङले आफ्नो सरकार अघिल्लो सरकारजस्तो पत्रकारका लागि अनुदार नभएको र प्रेस स्वतन्त्रताका पक्षमा रहेको पनि दाबी गरेका थिए । ‘अघिल्लो सरकारको ज्यादतीबाट पत्रकार अब मुक्त छन्,’ उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका पक्षमा छौं, तपाईंहरु ढुक्कले कलम चलाउनुस् ।’

प्रकाशित : श्रावण २, २०७९ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×