२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अघिअघि उत्खनन, पछिपछि अनुगमन !

नदी दोहन भइरहेको स्पष्ट भए पनि कारबाही गर्न अनुगमन टोली निरीह
जे पाण्डे

नेपालगन्ज, बाँके — राप्ती नदी तटीय क्षेत्रमा नदीजन्य सामग्रीको चोरी निकासी अझै रोकिएको छैन । ढुंगा, गिट्टी र बालुवाको चोरी निकासी नरोकिएपछि केही दिनअघि अनुगमनमा गएको टोलीका सदस्य महेश्वर पौडेलले राजनीतिक संरक्षण प्राप्त तस्करलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

अघिअघि उत्खनन, पछिपछि अनुगमन !

‘हामी पुग्दा जेसीबीले नदीबाट ढुंगा, गिट्टी र बालुवा धमाधम झिकेको देखिन्थ्यो । ती सामग्री लोड गरेर टिपर गुडिरहेका हुन्छन्,’ उनले भने, ‘तस्करहरू हामीलाई देख्नेबित्तिकै भागाभाग गर्छन् । टिपरका ढुंगा, गिट्टी झारेर बाटो नै रोकिदिन्छन् । हामी पछिपछि र तस्कर अघिअघिजस्तो हुन्छ, समात्नै सकिंदैन ।’ तस्करीको चौतर्फी विरोध भएपछि एक महिनाअघि राप्ती सोनारी गाउँपालिकाले ढुवानीका लागि राखेको ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ढुंगा, गिट्टी नियन्त्रणमा लिएको थियो । तर, त्यसलाई लिलाम गर्नुको साटो सस्तोमा बिक्री गरी ढुवानी गर्न अनुमति दिएपछि पालिकाको आलोचना भएको थियो । त्यसलगत्तै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले अवैध दोहन, संकलन र बिक्री वितरणको अनुगमन थालेका हुन् । अनुगमन टोलीका सदस्यले एक महिनाअघि जसबाट ती सामग्री नियन्त्रणमा लिइएको हो, उसैलाई ढुवानी अनुमति दिएको पाइएको बताएका छन् ।

‘राप्ती सोनारीले असार ६ मा ढुवानी गर्न लिखित पत्र नै दिएको पाइएको छ । सञ्चालनमा रहेका धेरै क्रसर उद्योग अवैध छन् । प्रमाण माग्दा अडिटरलाई दिएका छौं भन्छन् । नियन्त्रणमा लिन सक्ने अवस्था नै छैन,’ अनुगमन समितिका सदस्य पौडेलले भने ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली देख्नासाथ तस्करीमा संलग्नहरू भागभाग गर्ने गरे पनि टोली फर्किनासाथ काम जारी राख्ने गरेका छन् । ‘नदी दोहन गरेर धेरै स्टक राखेका छन् । अब नयाँ तरिकाले अनुगमन थालेका छौं । उनीहरूको डुकुमेन्ट हेर्छौं । क्रसर उद्योगहरू नवीकरण भए नभएको हेर्छौं । मापदण्ड विपरीतका उद्योगलाई कारबाही गर्छौं,’ जिससका संयोजक ज्ञानेन्द्र चौधरीले भने ।

पछिल्लोपटक राप्ती नदी तटीय क्षेत्रको ७० स्थानबाट नियन्त्रणमा लिएको प्रतिघनफिट १४ रुपैयाँ पर्ने २ करोड २२ लाख १३ हजार ३ सय २२ घनफिट ढुंगा र गिट्टी आधा भाउमा बिक्री गर्न दिने प्रदेश सरकारले निर्णय गरेको थियो । ‘प्रदेश सरकारले प्रतिघनमिटर १४ रुपैयाँ २४ पैसाको ढुंगा, गिट्टीको दर ८ रुपैयाँ ३० पैसामा झरेर बिक्री गर्नु भन्यो । सरकारको नीति अनुरूप त्यही रेटमा राजस्व जम्मा गर्न लगाएर ढुवानी अनुमति दिएका छौं,’ राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले भने, ‘अवैध दोहन र उत्खनन रोक्ने प्रयासमा छौं ।’ जिल्लामा चुरे फेदीमा रहेको परुवा खोला, झिझरी खोला, खैरी खोला, मुगुवा खोलासँगै राप्ती नदीको टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाटबाट सबैभन्दा धेरै ढुंगा र गिट्टी तस्करी हुँदै आएको छ ।

प्रकाशित : श्रावण १, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?