रुपन्देहीको तिनाउखोलामा युवती मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा ३ मा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए । उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । 'रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,' उनले भने, 'राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।'

आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए । उनीहरु आइपुग्दा शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइसकिएको थियो । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । घटना अनुसन्धान भइरहेको कुँवरले बताए ।

प्रकाशित : असार २६, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?