२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

झाडी फाँडेर टिमुर खेती

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–९ अर्घाको रातामाटा देउमाडी सामुदायिक वनका उपभोक्ता झाडी सफा गरेर टिमुर खेती गर्न कस्सिएका छन् । असार दोस्रो सातासम्म उनीहरूले चार हजार टिपुरका बिरुवा रोपिसकेका छन् ।

‘सुरुमा सल्ला रोपेर हरियाली बनाउने भन्ने लहर थियो,’ सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष छविलाल पौडेलले भने, ‘सल्लोले खानेपानीका मुहान सुकायो, भुइँमा घाँस उम्रेन । त्यसैले अब टिमुर र फलफूल खेती गर्न थालेका छौं ।’

टिमुरका विरुवाको संरक्षण र हेरचाह सबै उपभोक्ता समितिले गर्ने भएका छन् । तीन वर्षमै टिमुरले फल दिन सुरु गर्छ । वनमा भएका एक/दुईवटा बोटमा टिमुर राम्रो फलेकाले यसैको खेती गरिएको पौडेलले बताए । ‘अब टिमुरको व्यापक खेती गर्छौं,’ उनले भने, ‘यसको माग धेरै छ । उत्पादन गर्न सके बिक्री भैहाल्छ । टिमुरबाटै उपभोक्तालाई स्वरोजगार बनाउने योजना छ ।’ काँचो र सुकेको टिमुरलाई प्याकिङ गरी बिक्री गर्ने उनले सुनाए ।

सन्धिखर्क नगरपालिका, सहकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा कृषि शाखाले टिुमरका बिरुवा उपलब्ध गराएको हो । उपभोक्तालाई प्रोत्साहन गर्न नगर उपप्रमुख मिश्रा आचार्यले वनमै पुगेर केही बिरुवा रोपेकी थिइन् । ‘दाँत दुखेका बेला टिमुरको दाना दाँतमा राख्दा किरा मर्ने, ज्वरो, हैजा र पेटको विकार फाल्नसमेत यो सहयोगी छ,’ उनले भनिन्, ‘खाली वन र काम नलाग्ने झाडी फाँडेर अब व्यापक रूपमा टिमुर खेती गर्नुपर्छ ।’

जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने समस्या नरहेको उनले सुनाइन् । ‘सहरका ठूला होटल तथा रेस्टुराँमा र गाउँमा समेत यसको माग धेरै छ,’ उनले भनिन्, ‘अब अर्घालाई टिमुर विशेष क्षेत्र बनाएर उत्पादन बढाउनुपर्छ ।’

प्रकाशित : असार २२, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?