जगदीशपुर ताल पन्छी आरक्ष बन्ने

वन मन्त्रालयले अघि बढायो घोषणाको प्रक्रिया, चरा पर्यटन विकास गर्ने योजना
मनोज पौडेल

कपिलवस्तु — जगदीशपुर ताल अब पन्छी आरक्ष बन्ने भएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गर्न लागिएको हो । 

जगदीशपुर ताल पन्छी आरक्ष बन्ने

चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पुर्‍याउने गरी पन्छी आरक्ष बनाउन लागिएको सरोकारवालाले जनाएका छन् । वन, वातावरण तथा पर्यापर्यटन विशेषज्ञ विश्वनाथ ओली र गणेशराज जोशीको टोलीले अध्ययन अनुसन्धान गरेर पन्छी आरक्षका लागि उपयुक्त रहेको बताएपछि डिभिजन वन कार्यालयले अग्रसरता लिंदै प्रक्रिया थालेको हो ।

स्थानीय समुदायसँग छलफल र अन्तर्क्रिया गर्दा आरक्ष बनाउन उपयुक्त हुने राय आएपछि प्रक्रिया अघि बढाइएको छ । ओली र जोशी संलग्न हरित अर्थतन्त्र विकास केन्द्रले पेस गरेको कार्ययोजना अनुसार लुम्बिनी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले घोषणाको प्रक्रिया सुरु गरेको छ । यसका लागि प्रदेशको अन्तरमन्त्रालय सहमति लिन पत्राचार गरिएको मन्त्रालयका वन व्यवस्थापन, योजना तथा अनुगमन महाशाखा प्रमुख नारायणदेव भट्टराईले बताए । ‘घोषणामात्र गर्ने होइन,’ उनले भने, ‘चरा संरक्षण र पर्यापर्यटनको विकासका लागि काम पनि गर्ने हो ।’

पन्छी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वनले ६ महिना लगाएर पाँचवर्षे व्यवस्थापन कार्ययोजना बनाएको थियो । त्यसका लागि २३ करोड ६० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले आगामी आवका लागि २५ लाख बजेट विनियोजन गरेको छ । अन्य स्रोत संरक्षणसँग सम्बन्धित संस्था र सरोकारवालासँग जुटाएर काम थाल्ने महाशाखा प्रमुख भट्टराईले सुनाए । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल पनि एक हो । कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १९७२–१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य बनेको छ । बसाइँसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता हुन् ।

आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छन् । वर्ड सेन्चुरी घोषणा गर्न डिभिजन वनले प्रतिवेदन स्विकृतिका लागि मन्त्रालयमा पठाएको योजना शाखा प्रमुख केशर खड्काले बताए ।

लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्था छ ।

यसैलाई आधार मानेर आरक्ष बनाउन लागिएको हो । आरक्षको महत्त्व बुझाएरै काम गर्न खोजेको डिभिजन वन कार्यालयका डीएफओ विजयराज सुवेदीले बताए । ‘सिँचाइका लागि बनाइएको तालमा चरालाई महत्त्व दिएको भनेर कहिलेकाहीं असन्तुष्टि पनि पोखिन्छ,’ उनले भने, ‘ताललाई बुद्धिमत्तापूर्ण ढंगले उपयोग गरियोस् भन्नेमा हामी सचेत छौं ।’

तालले बर्सेनि हिउँदमा बसाइँ सरेर आउने १५ देखि २० हजार चरालाई आश्रय दिंदै आएको छ । ताल महत्त्वपूर्ण सीमसार क्षेत्र बन्न पुग्दा सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिवालयले यसलाई अन्तर्राष्ट्रिय महत्त्वको विश्व सीमसार क्षेत्रका रुपमा सूचीकृत गरेको थियो । रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा यहाँ आउने गर्छन् । मध्य एसियाका तुर्कमिनिस्तान, किर्किस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । ४ देखि ५ हजार माइल उडेर चरा यहाँ आउने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

सदरमुकाम तौलिहवादेखि करिब ११ किमि उत्तरमा रहेको तालमा जुनसुकै मौसममा पनि जान सकिन्छ । कृत्रिम रुपमा बनाइएको नेपालको सबैभन्दा ठूलो ताल हो यो । यहाँको प्राकृतिक छटा, सौन्दर्य र चराको मनमोहक चहलपहलले प्रकृतिप्रेमीलाई आकर्षित गर्छ । जगदीशपुर ताल मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो चरा आरक्ष हुने भएको हो । यसअघि सुदूरपश्चिम प्रदेशको घोडाघोडी ताललाई ०७८ फागुन २७ गते चरा आरक्ष घोषणा गरिएको थियो ।

प्रकाशित : असार २२, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?