बिदेसिनेको तथ्यांक संकलन सुरु

रोल्पा — रोल्पाका केही स्थानीय तहले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको तथ्यांक संकलन सुरु गरेका छन् । रोजगारीका लागि खाडीलगायतका विदेशी भूमिमा पुगेका दक्ष एवं अदक्ष मजदुरको तथ्यांक संकलन गरी उनीहरूलाई सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन सुरु गरेका हुन् ।

बिदेसिनेको तथ्यांक संकलन सुरु

नेपाली मजदुरको पक्षमा काम गर्न हाल तेस्रो चरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले यहाँका स्थानीय तहलाई सघाउँदै आएको छ । उक्त परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय परियोजना हो ।

वैदेशिक रोजगारीमा रहेका युवाहरू र उनीहरूको परिवारलाई सहयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहको समन्वयमा उक्त परियोजना सञ्चालित छ । रोल्पाका रोल्पा नगरपालिका, सुनिल स्मृति, परिवर्तन र रुन्टीगढी गाउँपालिकामा उक्त परियोजना सञ्चालित छ । उक्त परियोजना ०७५ भदौ ३१ देखि सुरु भएको हो । हेल्भिटास नेपाल संस्थाले प्राविधिक सहयोग गर्दै आएको छ । सामी परियोजनाका जिल्ला संयोजक शरद पोखरेलले वैदेशिक रोजगारीमा रहेका मजदुरका परिवारलाई तालिम दिइएको र उनीहरूको आर्थिक व्यवस्थापनमा सघाइरहेको बताए ।

परियोजनाको स्थानीय सेवा प्रदायक संस्था डिकोस रोल्पाका अध्यक्ष देवबहादुर वलीले रोजगारीमा रहेका मजदुरले पठाएको रकमको व्यवस्थापनमा सघाउने र उचित क्षेत्रमा लगानी गर्न सघाउने कार्यमा ध्यान दिइएको बताए ।

संस्थाकै कुमबहादुर पुनले महिलालाई आर्थिक बचत गर्न र परिवारबीच बेमेल आउन नदिने वातावरणको सिर्जना गर्न स्थानीय तहसँग समन्वय गर्नु थप आवश्यक भएको बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार रोल्पाबाट हालसम्म ६० हजार बढी मजदुर वैदेशिक रोजगारी गएका छन् ।

प्रकाशित : असार २१, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?