कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कृत्रिम खुट्टाले बनायो व्यवसायी

दुर्घटनामा खुट्टा गुमाएका प्रेम अहिले गाउँमै सैलुन चलाएर आम्दानी गर्दै
शमशेरविक्रम जीसी

प्यूठान — हिँडडुल गर्ने खुट्टै नभएपछि दैनिकी सहज हुँदैन । अरूको सहारा जतिबेलै उपलब्ध नहुन सक्छ । शौचदेखि खुला आकाश हेर्न अर्को व्यक्तिको भर पर्नुपर्छ । प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङका २८ वर्षीय प्रेम विक यस्तै अप्ठ्यारोमा थिए । ‘धर्धरी रुन्थें,’ उनले भने, ‘जिन्दगी आफैंलाई भारी लाग्थ्यो ।’ २०७३ सालमा ट्र्याक्टर दुर्घटनामा परेपछि उनले देब्रे खुट्टा गुमाए । त्यसपछि लामो समय ओछ्यानमै बिताएका उनको जीवनमा अहिले खुसी फर्किएको छ ।

कृत्रिम खुट्टाले बनायो व्यवसायी

गौमुखीको ठूलाबेंसीमा प्रेमले सैलुन व्यवसाय सञ्चालन गरेका छन् । ‘२१ वर्षको थिएँ, ट्र्याक्टर दुर्घटनामा परेर घाइते भएँ । पछि खुट्टा नै काट्नुपर्ने भयो,’ उनले भने, ‘नङ काटेर फ्याँक्दा त मन दुख्छ । खुट्टा काट्दा कस्तो भोग्नु पर्‍यो होला ।’ खुट्टा कामै नलाग्ने भएकाले चिकित्सकले यसलाई काटेर फाल्नु पर्ने बताएपछि जिन्दगी सकिएको अनुभूति गरेको उनले बताए । ‘अब केही गर्न सक्दिनँ, जीवन सक्कियो ठानेर रोएँ,’ कपाल काट्दै गर्दा विकले आफ्नो मनका कुरो गरे, ‘तर, जीवनमा हार खान हुँदैन भन्ने अठोट थियो । त्यसैले आज यहाँसम्म उभिएको छ ।

ओछ्यानमा लत्रिएको ज्यानले आज सानो भए पनि व्यवसायी भएको छु ।’

खुट्टा गुमेपछिको पाँच वर्ष ओछ्यानमै बित्यो । परिवारका माइला छोरा प्रेम गएको एक वर्षदेखि खुट्टा टेक्न र हिंड्डुल गर्न सक्ने भएका छन् । गौमुखी गाउँपालिकाले खुट्टा नभएकालाई कृत्रिम खुट्टाको व्यवस्था गरेपछि धेरैको जीवन फेरिएको छ । ओछ्यानमा लत्रिएको ज्यान यताउता हिंडडुल गर्न सक्ने भएको छ । ०७८ वैशाखमा पालिकाले गाउँपालिकाभित्रका खुट्टा नभएकालाई कृत्रिम खुट्टाको व्यवस्था गरेको हो । प्लास्टिकको खुट्टा हालेपछि आफैं केही गर्न सक्छु भन्ने लागेर सैलुन सुरु गरेको विकले सुनाए ।

‘परिवारको सहारा बन्छु भन्ने लागेको थियो तर अपाहिज भएँ,’ विकले भने, ‘गाउँपालिकाले नयाँ जीवन दिएको छ ।’ गाउँपालिकामार्फत कृत्रिम खुट्टाको व्यवस्था भएपछि पहिलेकै अवस्थामा फर्किएको उनको अनुभव छ । गह्रौं काम गर्न नसके पनि सानातिना काम गरेर परिवार पाल्न सकिन्छ भन्ने विश्वास जागेको उनले बताए । ‘साप्राबाट भाँच्चिएको खुट्टा अहिलेसम्म अप्रेसन भएको छैन । हड्डीमा इन्फेक्सन भएको छ रे,’ उनले भने, ‘फलाम जोडेर कृत्रिम खुट्टा हालेको छु ।’

कृत्रिम खुट्टा राखेकालाई गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिले गाउँमै काम गर्ने व्यवस्था मिलाएपछि अहिले आयआर्जनको बाटो खुलेको हो । ‘सानोतिनो मेरो लगानी पनि छ ।

अलिअलि घरेलुले सहयोग गरेको छ,’ उनले भने, ‘एक जनाको कपाल काटे एक सय रुपैयाँ लिन्छु । दारी काटेको छुट्टै पैसा लाग्छ । सैलुन सञ्चालन गरेर दिनमा ५ सयदेखि २५ सय रुपैयाँसम्म कमाइ हुने गरेको छ ।’ सबै कटाएर मासिक ४० हजारजति कमाइ हुने उनले सुनाए । बुबाआमा र भाइबहिनीको जिम्मेवारी उनकै काँधमा छ । भाइले १२ कक्षा पढेका छन् भने बहिनी एसईई दिएर बसेकी छन् । दाजु भाउजू छुट्टिएर बसेको उनले सुनाए ।

ओछ्यानमा थला परेको छोरा काम गर्ने भएपछि परिवारमा पनि खुसी छाएको उनले बताए । ‘कमाउने भन्दा पनि हिंड्ने भएकामा परिवारका सदस्य दंग छन्,’ उनले भने । गाउँपालिकाभित्रका खुट्टा नभएकालाई दैनिकीमा केही सहज होस् भनेर पोखरा लगेर खुट्टा हाल्न सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । प्रतिव्यक्ति कृत्रिम खुट्टा राख्न ५ लाख रुपैयाँजति खर्च भएको उनले बताए । ‘सानो खर्चले धेरै परिवारमा खुसी छाएको छ,’ उनले भने, ‘केही त व्यवसायमा पनि लागेका छन् ।’

प्रकाशित : असार २१, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?