सत्तामा बस्ने सीमित मान्छेका कारण देश आर्थिक संकटमा : चित्रबहादुर केसी

सन्जु पौडेल

तिलोत्तमा — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्ने सीमित मान्छेको स्वार्थका कारण मुलुकमा आर्थिक संकट आएको बताएका छन् । सत्तामा बस्नेहरूले राजनीतिलाई सेवा नभई पैसा आर्जन गर्ने व्यवसाय बनाएकाले देशको अवस्था नाजुक बन्दै गएको उनले बताए ।

सत्तामा बस्ने सीमित मान्छेका कारण देश आर्थिक संकटमा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा उनले राज्य सञ्चालकको नियत गलत भएकाले देशले समस्या भोग्नु परेको भन्दै अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको जिकीर गरे । आफूलाई ठूलो दलको नेता हुँ भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर धनराशी कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

अध्यक्ष केसीले ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा परेको आरोप लगाए । एउटा देशलाई फुटाएर आठवटा बनाउनेहरूका कारण देश पछाडि परेको उल्लेख गर्दै उनले सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने समेत बताए ।

संघीयता खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखाना सञ्चालनमा लगानी गर्नुपर्ने उनको सुझाव छ । खेतीपातीका लागि किसानलाई चाहिने मल, बीउ र रोजगारमूलक उद्योग, कलकारखाना सञ्चालन नगर्दासम्म देशले निकास पाउन नसक्ने उनको तर्क छ ।

कृषि प्रधान दैशमै खेतीपातीका बेला मल बीउ अभाव हुनु दुखद् भएको भन्दै उनले सरकारको प्राथमिकतामा कृषि नपरेको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले चुनावमा भोट दिँदा त्यो पार्टीको नीति, सिद्धान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले जनताले थेग्नै नसक्ने गरी महँगी र भ्रष्टाचार बढेको भन्दै यसविरुद्ध संघर्षमा उत्रिनु पर्ने बताए ।

प्रकाशित : असार २०, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?