कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुटपिटको आरोप लागेकी स्वास्थ्य राज्यमन्त्री दोषी : छानबिन समिति

‘राज्यमन्त्रीजस्तो व्यक्तिले दायित्व भुलेको देखिएकाले त्यसमा सरकारले उचित कदम चाल्नुपर्ने सुझाव’
घनश्याम गौतम

(रूपन्देही) — महिला र बालबालिकामाथि कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको विषयमा छानबिन गर्न बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा राज्यमन्त्रीलाई नै ‘दोषी’ ठहर गर्दै सचेत गराउन सरकारलाई सुझाव दिइएको छ ।

कुटपिटको आरोप लागेकी स्वास्थ्य राज्यमन्त्री दोषी : छानबिन समिति

जेठ ३१ मा मन्त्री वलीले दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क नजिकैको माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा सुरक्षाकर्मीसहित पुगेर बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको थियो । वलीको विषयमा प्रतिपक्षी दल एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सरकारले असार १ मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी थिए । १५ दिनको कार्यादेश पाएको समितिले १८ औं दिनमा शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको हो । सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

स्रोतका अनुसार छानबिन समितिले वलीलाई नै दोषी ठहर गरेको छ । लेनदेनको विषयलाई लिएर घटना भएको भए पनि त्यसमा राज्यमन्त्रीजस्तो व्यक्ति सुरक्षाकर्मीसहित बस्नेतको घरमा पुग्नु र हुलहुज्जत गर्नु गलत भएको निष्कर्ष निकालिएको स्रोतको दाबी छ ।

त्यस्तै लेनदेनको विषमा मुछिएका माओवादीको वाईसीएल कार्यकर्ता बस्नेतले पनि नियोजित रूपमा राज्यमन्त्रीलाई घरमै बोलाएर स्थानीय र सञ्चारकर्मीलाई समेत खबर गरेको उल्लेख छ । ‘राज्यमन्त्रीले आफ्नो दायित्व र जिम्मेवारी बिर्सिएको ठहर प्रतिवेदनले गरेको छ,’ स्रोतले भन्यो, ‘अन्य कारबाहीभन्दा पनि राज्यमन्त्री वलीलाई सरकारका तर्फबाट सचेत बनाउने राय दिइएको छ ।’

छानबिन समितिकी सदस्य कानुन, महिला तथा बालबालिका मन्त्री रमा घर्तीले एकै राजनीतिक दलका कार्यकर्ताबीच भएको सापटी लेनदेनको रकम फिर्ता नहुँदा घटना भएको प्रतिवेदनले औंल्याएको बताइन् । ‘घटना सरकारसँग जोडिनु अनावश्यक रहेको र लेनदेनकै विषयमा भएको अध्ययनमा देखिन्छ,’ उनले भनिन्, ‘तर, राज्यमन्त्रीजस्तो व्यक्तिले दायित्व भुलेको देखिएकाले त्यसमा सरकारले उचित कदम चाल्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।’ हामीले यथार्थ अध्ययन गरेर जस्ताको तस्तै प्रतिवेदन तयार गरी सरकारलाई बुझाएकाले थप के गर्ने भन्ने विषयमा

सरकारले नै निर्णय गर्ने उनले बताइन् । विमला र एकराजबीच ६ लाख २० हजार रुपैयाँको आर्थिक लेनदेन देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले माओवादी कार्यकर्ता एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयलाई भेला गर्ने र सञ्चारकर्मी बोलाउने गरेको देखिएकाले घटना केही शंकास्पद देखिएको औंल्याएको छ । एकराजले राज्यमन्त्रीलाई आफू घरमै रहेको जानकारी दिएको र मन्त्री पुग्दा उनी नभेटिएको तर स्थानीय र मिडियाकर्मी जुटेकाले मन्त्री आवेगमा आएर घटना घटेको देखिएकाले निज बस्नेतको गतिविधिमा पनि अनुसन्धान गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले अध्ययन गरेर सरकारले निर्णय गर्ने बताए । ‘राज्यमन्त्री वलीले राजीनामा गरिसक्नु भएको छ,’ उनले भने, ‘अन्य विषयमा प्रतिवेदन अध्ययनपछि सरकार अघि बढ्नेछ ।’

प्रकाशित : असार २०, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?